पलेँटीमा आउँदै लेकाली समूह
काठमाडौं, भदौ १० : सांगीतिक समूह लेकाली परिवार पलेँटीमा प्रस्तुत हुने भएको छ। यो महिनाको सांगीतिक कार्यक्रमका लागि लेकाली समूहले तयारी थालेको छ।
....
काठमाडौं, भदौ १० : सांगीतिक समूह लेकाली परिवार पलेँटीमा प्रस्तुत हुने भएको छ। यो महिनाको सांगीतिक कार्यक्रमका लागि लेकाली समूहले तयारी थालेको छ।
लेकाली समूहका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ पलेँटी श्रृंखलाका लागि नेपालयको ‘आर’शालामा रिहर्लसमा जुटेका छन्। झण्डै आधा शताब्दी पुराना गीत लिएर लेकाली प्रस्तुत हुन लागेको हो।
यो समूह २०२४ मा स्थापना भएको थियो। राल्फा परिवारबाट गणेश रसिक अलग भएसँगै लेकाली समूहको सुरुआत हुन पुगेको हो। गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठसँगै यो समूहमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोर आवद्ध भएका थिए।
यो समूहले २०२५ मा लोकाली समूहले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेको थियो। त्यसमा ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निक्कै चर्चा कमाएका थिए। त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो।
राजधानी पसेपछि गाउँमा गाउने गीत नै गाउन थालेको गणेश रसिक बताउँछन्।
विगतको सृजनाकर्मको दिनहरू सम्झिँदै रसिक भन्छन, ‘हामी गोठाले जीवन बिताएका मान्छे! राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयो। सुन्नेले लोकगीतकै दर्जा दिए।‘
लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उनीहरु उत्साहित छन्। उर्मिला श्रेष्ठ भन्छिन्, ‘उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ।‘
लेकाली समूहलाई पलेँटीमा गायिका मीना निरौलाले साथ दिनेछिन्।
पलेँटीमार्फत् लेकाली समूहलाई वर्तमान समयमा सुन्न र सुनाउन पाउनु एउटा ऐतिहासिक सांगीतिक घटना भएको पलेँटी संयोजक आभासको भनाइ छ।
लेकाली समूहको प्रस्तुति भदौ १३ गतेदेखि सुरु हुनेछ। उनीहरू तीन दिनसम्म आफ्नो प्रस्तुति राख्नेछन्।












