खोप अभियानलाई तीव्रता दिइनेछ : स्वास्थ्य मन्त्री खतिवडा
नुवाकाेट, मंसिर २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन्। आज त्रिशूली अस्पतालको...
नुवाकाेट, मंसिर २१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन्। आज त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरेका हुन्।
मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताए। उनले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताए।
'हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ,' मन्त्री खतिवडाले भने, 'नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छाैँ। साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ।' मन्त्री खतिवडाले नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिनेसमेत बताएका छन्। 'दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ। केही दिनमा नै त्यसको निर्णय हुनेछ,' मन्त्री खतिवडाले भने।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताए। उनले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा पाँच शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेकोसमेत जानकारी दिए।
कोरियन सहयोग नियोग (कोइका)ले सहयोगमा ५० शय्याको अस्पताल निर्माण भएको हो। भूकम्पपछि अस्पतालमा सबै संरचना भत्किएपछि टेन्टबाट सेवा दिँदै आएको अस्पतालको नयाँ भवन डेढ वर्षअघि निर्माण सम्पन्न भएको थियो। अस्पताल ५० शय्याको भए पनि १२० शय्या राखेर सेवा प्रवाह हुँदै आएकाले अस्पतालको शय्या सङ्ख्या बढाउन पर्ने अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले बताए।
विसं २०२१ मा त्रिशूली जलविद्युत् निर्माणको क्रममा कामदारको उपचारको लागि स्थापना गरिएको स्वास्थ्यचौकी नै २०३२ सालबाट सर्वसाधारणको लागि उपचार गर्ने अस्पताल बनाइएको हो। २५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताल २०६९ सालबाट ५० शय्यामा विस्तार गरिएको हो। नुवाकोटको साथै धादिङ र रसुवा जिल्लाका बिरामीको लागि त्रिशूली अस्पताल उपचारको केन्द्र बनेको छ।












