नगरप्रमुख प्रजापतिलाई पुस्तकालय कार्यदलको प्रतिवेदन हस्तान्तरण
भादगाउँ, मंसिर २१ : नगरभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारका लागि सुझाव पेस गर्न भक्तपुर नगरपालिकाद्वारा गठित कार्यदलले आज नगरप्रमुख सुनिल प्रजापतिसमक्ष प्रतिवेदन...
भादगाउँ, मंसिर २१ : नगरभित्रका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको सुधारका लागि सुझाव पेस गर्न भक्तपुर नगरपालिकाद्वारा गठित कार्यदलले आज नगरप्रमुख सुनिल प्रजापतिसमक्ष प्रतिवेदन पेस गरेको छ। गत असोज १९ गते नगरप्रमुख प्रजापतिको अध्यक्षतामा बसेको बैठकले सो कार्यदल गठन गरेको थियो।
नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयका पुस्तकालय अधिकृत भूपाल मूलको संयोजकत्वमा गठित कार्यदलले नगरभित्रका ३२ मध्ये २६ वटा पुस्तकालय र वाचनालयको स्थलगत अध्ययन तथा तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार पारेको नगरप्रमुख प्रजापतिले बताए।
प्रतिवेदनमा पुस्तकालयहरुको सुधारका लागि नगरपालिकाले आर्थिक र भौतिक सहयोग गर्नुपर्ने, प्राथमिक चरणमा भक्तपुर नगरपालिकाबाट प्रकाशित सबै पाठ्यसामग्री र भक्तपुर मासिक, ख्वप पौ, मजदुर र श्रमिकलगायत पत्रिका उपलब्ध गराउनुपर्ने, पुस्तकालयमा काम गर्ने जनशक्तिलाई पुस्तकालयसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्नेलगायत ११ वटा सुझाव दिइएको छ।
प्रतिवेदन ग्रहण गर्दै नगरप्रमुख प्रजापतिले सार्वजनिक पुस्तकालयले देशमा सामाजिक न्याय, सभ्यता र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका रहने हुँदा सबैले अपनत्व ग्रहण गर्नुपर्ने विचार व्यक्त गरे। उनले पुस्तकालय नागरिकहरुमा चेतना फैलाउने मुख्य आधार भएकाले कार्यदलबाट प्राप्त सुझावका आधारमा नगरमा रहेका सार्वजनिक पुस्तकालय तथा वाचनालयहरुको स्तरोन्नति गर्न भौतिक तथा आर्थिक सहयोग गर्न सकिने कुरा बताए।
कार्यदलमा रवीन्द्रप्रसाद कुसी, (प्रगति पुस्तकालय), दिनेश खड्गी (लेनिन पुस्तकालय), कृष्णप्रसाद सुवाल (शहीद राजकुमार स्मृति पुस्तकालय), रामकृष्ण मूलगुठी (मङ्गलाछें युवा क्लब तथा पुस्तकालय) सदस्य रहेका छन्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
