अखाद्य वस्तु भेटिएपछि तनहुँको बेकरी उद्योगमा ताला
दमौली, मंसिर २१ : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको...
दमौली, मंसिर २१ : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो ।
उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र अखाद्य वस्तुको प्रयोग गरी बजारमा बिक्री–वितरण गरेको भेटिएपछि ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उद्योगको अनुगमन गर्दा उद्योगभित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएको थियो ।
चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो आएकाले प्रशासनले अन्य समयमा पनि अनुगमनलाई निरन्तरता दिएको बरालले बताए। उनका अनुसार उद्योग सञ्चालकलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ। ‘अखाद्य र म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन निरन्तरता दिन्छौँ’, बरालले भने।
बरालको नेतृत्वको टोलीले डुम्रेबजारका मिठाइ पसल, खाद्यान्न पसल, माछामासु पसल, तरकारी पसल र बीउबिजन र दाना पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, दर्ता नवीकरण नगरिएको, म्याद गुज्रिएको उपभोग्य वस्तु बिक्रीयोग्य वस्तुसँगै राखिएको, लेवल नराखिएको, बीउबिजन र विषादी पसल एउटै ठाउँमा राखी बिक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको भेटिएको थियो ।
मिठाइ पसलमा पनि सरसफाइको कमी देखिएको छ । दर्ता तथा नवीकरण नगरेका व्यवसायीहरूलाई समयमै दर्ता तथा नवीकरणका लागि आग्रह गरिएको घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
