गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य खोजी गरिँदै
म्याग्दी, मंसिर २१ : नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली म्याग्दी आएको छ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश...
म्याग्दी, मंसिर २१ : नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली म्याग्दी आएको छ।
नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को टोली म्याग्दीका नयाँ पर्यटकीयस्थलको सम्भाव्यता अध्ययनका लागि आएको हो।
पर्यटन बोर्डको प्रदेश कार्यालयका प्रबन्धक नवीन पोखरेल, नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल, तारा गौतमसहितको टोलीले नयाँ गन्तव्यको अवलोकन, सरोकारवालासँग अन्तक्रिया सुरु गरेको छ। बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने टोड्केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका तारा गौतमले बताए।
नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएको उनले बताए। म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवर्द्धन गर्ने योजना रहेको जनाइएको छ।
टोलीले पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने गौतमले बताए। टोलीले बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूसँग छलफल गरेको थियो। छलफलका क्रममा पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले छोटिएको पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य खोजी गरिएको बताए।
सडक विस्तारसँगै पुराना पर्यटकीयस्थलमा आउने पर्यटकको बसाइ छोटिएको पोखरेलले बताए। म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल, वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले टोड्के, रुइसे, झाँक्रीपानी, लभ्लीहिल, खोपारा, गुर्जा, ताकमकोत, मोहरेडाँडा, मालिकालगायतका स्थल म्याग्दीका नयाँ पर्यटकीयस्थलका रूपमा विकास भएको बताए।
हिमाल, अग्ला पहाड, झरना, नदीका साथै संस्कृति, ग्रामीण जीवनशैली म्याग्दीका पर्यटकीयस्थलका आकर्षण हुन्। नयाँ पर्यटकीयस्थलमा आवास सुविधाको व्यवस्थापनमा निजी क्षेत्रको लगानी आवश्यक रहेको छलफलमा सहभागीको भनाइ थियो। (रासस)











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
