Kathmandu Press

रोल्पाका १४ खोलामा पक्की पुल बन्दै

रोल्पाका १४ खोलामा पक्की पुल बन्दै

रोल्पा, मंसिर २० : रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा  पक्की पुल निर्माण सुरु भएकोे छ। 

खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महिना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ वटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । सङ्घ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ। 

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई वटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ वटा निर्माणको चरणमा छन् । 

Hardik ivf

चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप छ वटा पक्की पुल स्वीकृत भएका छन् । चालु आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ वटामध्ये दुई वटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ वटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले  कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ।

आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने आशा पलाएको छ । परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधीन पुल असार मसान्तसम्म सकिने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ । उनीजस्तै अन्य स्थानीय निकायले पनि पुल निर्माणका लागि निरन्तर चासो दिएका कारण निर्माण व्यवसायी समयमै काम गर्न बाध्य भएको बताइन्छ।

अघिल्लो वर्ष स्वीकृत योजनामध्ये लुङ्ग्री खोला र जीवे खोला पुल निर्माण भई उद्घाटनसमेत भइसकेका छन् । अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन्। 

यस वर्ष स्वीकृत पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुख दीपक डाँगी बताउनुहुन्छ।

सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनामा भने कुनै समस्या छैन कार्यालय प्रमुख डाँगी भन्छन् । उक्त खोला जाने बाटो पहिराले अवरुद्ध पारेका कारण पहिरो आउनुअघि भएको काम पूरा गर्न तत्काल गर्न नसकिएको उनको भनाइ छ।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, मंसिर २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्