चोरी शिकारीले बाघ संरक्षणमा चुनौती थपियोः मन्त्री यादव
चितवन, मंसिर १९ः वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताएका छन्। राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आज...
चितवन, मंसिर १९ः वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले चोरी शिकारीका कारण बाघ संरक्षणमा चुनौती थपिएको बताएका छन्। राष्ट्रिय बाघ सर्वेक्षण, २०७८ को आज यहाँ उद्घाटन गर्दै उनले बाघको बासस्थानमा सङ्कुचन, आहारा प्रजातिको कमि, हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी मुख्य चुनौतीको रुपमा रहेको उल्लेख गरे ।
हड्डी तथा छालाका लागि गरिने चोरी शिकारी र अन्तरदेशीय व्यापार बाघ संरक्षण चुनौतीको विषय बनेको मन्त्री यादवले बताए । बाघको मुख्य बासस्थानमा निर्माण हुने सडक, रेल मार्गलगायत भौतिक पूर्वाधार निर्माण जस्ता कार्यले बाघ संरक्षणमा चुनौती थपिएको उनको भनाइ थियो । सरकारले बाघ संरक्षणलाई विशेष प्रथामिकता दिएको भन्दै उहाँले संरक्षणकर्मी, स्थानीय तह, सामुदायिक वन, संरक्षण क्षेत्र, नागरिक समाजलगायत मिलेर यसको संंरक्षण गर्नु आवश्यक रहेको बताए।
विगत एक सय वर्षमा बाघको ९० प्रतिशत बासस्थान मासिएको भन्दै मन्त्री यादवले बासस्थानको संरक्षण मुख्य कुरा रहेको बताए । बाघले नेपालका मुख्य पर्यापर्यटन अभिवृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै उनले बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई बढीभन्दा बढी समुदायमा पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
मानव–बाघबीचको द्वन्द्ध व्यवस्थापन गर्न अन्य निकायसँग सहकार्य गर्न मन्त्री यादवले विभागलाई निर्देशन दिए। बाघ पाइने संरक्षित क्षेत्र तथा जैविक मार्गमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्ने कार्यविधि तयार भई स्वीकृतिको क्रममा रहेको उहाँले जानकारी दिए। विश्व माटो दिवससमेत रहेको भन्दै मन्त्री यादवले हरेक जीवको आधार रहेको बताए। माटोमा रहेका हरेक प्राणी एक अर्कामा अन्तर सम्बन्धित छन् ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले बाघको सङ्ख्या बढेको अनुमान गरिएको बताए । विज्ञको भनाइ र अनुमानलाई हेर्दा बाघको सङ्ख्या २५० नाघ्ने उनको अनुमान थियो ।
पछिल्ला वर्षमा बाघको बासस्थान विस्तार गरिएको भन्दै उनले बाँके निकुञ्जको स्थापना र पर्सा निकुञ्जमा क्षेत्र विस्तार गरिएको जानकारी दिए । यससँगै संस्थागत ढङ्गले बाघको सङ्ख्या बढाउने काममा मन्त्रालय लागेको बताए।
कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले ऐन कानून कार्यान्वयन गर्न नसक्दा वन्यजन्तु संरक्षणमा चुनौती खडा हुने गरेको बताए । वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बाघ संरक्षण सहज नरहेको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा नवलपरासी सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी मायाँ पङ्गेनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी, विश्व वन्यजन्तु कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङ, जेड्एस एलका नेपाल प्रमुख डा हेमसागर बराल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रीभद्र आचार्यले बाघ गणनाका प्राविधिक पक्षका बारेमा प्रकाश पार्दै सुरक्षित भएर काम गर्न अनुरोध गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि मन्त्री यादवले बाघको तस्बिर लिनका लागि दुई ठाउँमा जडान गरिएको स्वचालित क्यामेरा सञ्चालन गरेर विधिवत् रुपमा गणना सुभारम्भ भएको घोषणा गर्नुभएको थियो । नेपालका बाघ पाइने पाँच राष्ट्रिय निकुञ्जमा एकै साथ गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्भेक्षणको सुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहाबाट गरिएको हो ।
नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ । ती क्षेत्रमा गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक वेदकुमार ढकालका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्भेक्षण गरिँदै छ । यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्भेक्षण गरिँदै छ ।
ढकालका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए। उनीहरुको प्रतिव्यक्ति १० लाखको बीमा गरिएको छ, भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् ।
चितवनमा १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजदेखि गणना थालेका छन् । क्यामेरा ट्र्यापिङ विधिबाट बाघ सर्भेक्षण गरिने छ । चितवनमा मात्र ३६० जोडी क्यामेरा जडान गरिने छ । देशभर यो सङ्ख्या ९०० को हाराहारी हुनेछ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइनेछ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।
दुई दुई ग्रिड अर्थात चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । बाघ वरिपरी आएमा क्यामेराले तस्बिर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।
तस्बिर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजना छ । सन् २००९ देखि राष्ट्रिय रुपमानै बाघको सर्वेक्षण सुरुवात गरिएको थियो । हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटासम्म वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षण अनुसार २३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको ढकालले जानकारी दिए ।
सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिवद्धता व्यक्त गरेको थियो ।
तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गर्नुभएको थियो । सो प्रतिबद्धता पूरा भएको अनुमान सरोकारवालाले गरेका छन् । नेपालमा हरेका चार पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ।












