एक लाख ६० हजार स्मार्ट लाइसेन्समा त्रुटी
काठमाडौं, भदौं ८ : सवारी चालकलाई प्रदान गरिएका नयाँ स्मार्ट लाइसेन्समा त्रुटी देखिएको छ।
यातायात विभागले प्रदान गरेका कयौं स्मार्ट लाइसेन्स ....

काठमाडौं, भदौं ८ : सवारी चालकलाई प्रदान गरिएका नयाँ स्मार्ट लाइसेन्समा त्रुटी देखिएको छ।
यातायात विभागले प्रदान गरेका कयौं स्मार्ट लाइसेन्स गुणस्तरहीन भएको पाइएको छ। सुरुआतमा वितरण भएका लाइसेन्सको स्टिकर चाँडै खुइलिने, चिप्स खस्ने समस्या देखिएको हो।
यस्तो समस्या एउटा–दुइटा स्मार्ट लाइन्सेन्समा मात्रै होइन, हजारौंमा देखिएको छ। यातायात विभागका अनुसार, एक लाख ६० हजार स्मार्ट लाइसेन्समा यस्तो त्रुटी देखिएको हो।
यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालले सुरुआतमा प्रिन्ट गरिएका स्मार्ट लाइसेन्समा त्रुटी देखिएको स्वीकारे। ‘सुरुआतमा प्रिन्ट गर्दा त्रुटी भएको हो,’ महानिर्देशक हमालले भने।
निर्देशक हमालले मेसिनको कारणले समस्या आएको बताए। ‘हामीले पहिला ठेक्का दिएको कम्पनीले मेसिनको कारणले गर्दा सुरुमा सामान्य समस्या भएको हो। लगभग एक लाख ६० हजार जति लाइसेन्समा त्यस्तो समस्या देखिएको छ,’ महानिर्देशक हमालले भने।
यातायात विभागले २०७० मा १५ करोड रुपैयाँमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सबाट एक लाख ६० हजार स्मार्ट लाइसेन्सको खालि कार्ड, प्रिन्टर, कम्प्युटर, सफ्टवेयर खरिद गरेको थियो। मन्द्रास सेक्युरिटी प्रिन्टर्सले दिएका सबै स्मार्ट लाइसेन्समा समस्या देखिएको हो।
सवारी चालकहरूका अनुसार, २०७२ मंसिरमा जारी भएको स्मार्ट लाइसेन्सको माघदेखि नै पिन उम्किने समस्या देखिएको थियो। त्यसको स्टिकर खुइलिने, पिन निस्कने समेत गरेको देखिएको थियो।
त्यसपछि पनि २०७२ मंसिरमा नौ करोड ७० लाख रुपैयाँमा मद्रास सेक्युरिटी प्रिन्टर्ससँगै सात लाख ५० हजार स्मार्ट लाइसेन्सको खाली कार्ड र चार वटा मेसिन खरिदको ठेक्का सम्झौता गरेको थियो।
जसअनुसार, विभागले २०७३ पाँच पटक गरी सात लाख ५० हजार स्मार्ट लाइसेन्सको खाली कार्ड र चार वटा प्रिन्टर ल्याएको थियो। ति स्मार्ट कार्डमा पनि समस्या हुन सक्ने आशंका गरिएको छ।
विभागका महानिर्देशक हमाल भने अब समस्या नभएको दावी गरेका छन। ‘पछिल्लो समय छापेका कार्डलाई विदेशमा पठाएर जाँच गरिएको छ। गुणस्तरमा पनि सुधार गरिएको छ,’ उनले भने।
अब ‘मास प्रिन्टर’बाट छापिने
स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ भएपछि विभागले ‘मास प्रिन्टर’ ल्याएको छ। जडानको काम भइरहेको र अब मास प्रिन्टरबाटै छपाइ हुने विभागले जनाएको छ।
मास प्रिन्टरबाट छाप्न थालेपछि ढिलाइको समस्या समाधान हुने विभागले जनाएको छ। यसले एक घण्टामा चार सय ५० वटा स्मार्ट लाइसेन्स छाप्ने भएकाले सहज हुने विभागका महानिर्देशक हमालको भनाइ छ।
अहिले विभागमा १० वटा पूराना प्रिन्टर छन्। ति प्रिन्टरले प्रतिघण्टा ४० वटासम्म छाप्ने गरेका छन्।
अहिले नौ लाख स्मार्ट लाइसेन्स वितरण गर्न बाँकी छ। मास प्रिन्टरले छापेपछि यो समस्या सुल्झिने महानिर्देशक हमालले बताए।











-1784808429.png)