सरकारको लक्ष्य र उद्देश्य पूरा गराउने कर्मचारी : अर्थमन्त्री शर्मा
विराटनगर, मंसिर १७ : अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताएका छन्।जिल्ला प्रशासन कार्यालय...
विराटनगर, मंसिर १७ : अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई आज निर्देशन दिँदै उनले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिए। मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहत स्वरुप दिने १० हजार रूपैयाँ कार्यविधिअनुसार वितरण गर्नुपर्ने भन्दै सरकारले सबै प्रदेशमा एक हजार शैय्याको सरकारी अस्पताल बनाउने योजना लिएको बताए।
विकास निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने धारणा राख्दै अर्थमन्त्री शर्माले भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
उनले नपुगेको ठाउँमा बजेटको माग हुने र हुने ठाउँमा खर्च हुन नसक्ने कारणले समस्या देखिएको छ भन्दै तत्काल सवारी साधन खरिद गर्न नसकिने बताए।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट भएको जनधनको क्षति बारेमा जानकारी दिए। उनले विपद्का कारण दुई जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको जानकारी दिँदै मृतक परिवारलाई राहत दिइसकेको र बेपत्ता परिवारलाई राहत दिने तयारी भइरहेको स्पष्ट पारे। प्रजिअ दाहालले जिल्लामा विकासका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताउँदै विकासमा सङ्घ, प्रदेश र स्थानीय तहमा समन्वयको अभाव रहेको जनाए। उनले सडक र अन्य पूर्वाधारको काम ठेक्का लागेर पनि काम नभएकोमा जनताको व्यापक गुनसो रहेको जनाउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न यस वर्ष बजेट विनियोजन नभएको जानकारी गराए।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेत, कोशी अस्पतालका प्रमुख डा चुमनलाल दास, कृषि ज्ञान केन्द्रका नुनुलाल उराव, ग्रामीण हुलाकी सडकका प्रमुख विजयकुमार थापाले पनि आ–आफ्ना समस्या राखेका थिए।












