अपाङ्गता दिवसमा सफ्टवेरिकाको विद्यार्थीले सार्वजनिक गरे फोर ह्विलर मोबिलिटी व्हीलचेयर
काठमाडौं, मंसिर १७ : अपाङ्गता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएर सार्वजनिक गरेका...
काठमाडौं, मंसिर १७ : अपाङ्गता दिवसको अवसरमा सफ्टवेरिका कलेजका विद्यार्थीको टोलीले असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै फोर ह्विलर मोबिलिटी व्हीलचेयर बनाएर सार्वजनिक गरेका छन् ।
विद्युतबाट चल्ने व्हीलचेयर एउटा गाडीमा हुने जस्तै सम्पुर्ण सुविधा रहेका छन् । विद्युतिय माध्यमबाट चल्ने यो गाडी फुल चार्जमा ३५ देखि ४० किलोमिटर सम्म गुड्नसक्छ । त्यस्तै ४८ भोल्ट ब्याट्री भएको यो गाडी १७ किलोमिटर प्रति घण्टाको हिसाबले गुड्छ । व्हीलचेयरको राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा निर्माण गरिएको र सोको भविष्यमा बजारिकरण आविष्कार केन्द्रले गर्ने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए । व्हीलचेयरको पेटेन्ट राइट राष्ट्रिय आविष्कार केन्द्र र कलेजको संयुक्त रहने बताइएको छ ।
प्रयोगकर्ताले यो गाडी सहजै चलाउन सक्ने गरी यसको डिजाइन गरिएको छ । यस्तै यो गाडीलाई इन्टरनेटको सहायतामा मोबाइल एप्लिकेसनबाट पनि चलाउन सकिन्छ । सफ्टवेरिका कलेजका विद्यार्थी निराजन गौतम, गणेश अर्याल, आयुष काजी डङ्गोल, बिपस छन्त्याल, अल्बर्ट महर्जन, राज श्रेष्ठ र अनिस श्रेष्ठको टिमले व्हीलचेयर बनाएका हुन् । विद्यार्थी निराजन गौतमका अनुसार प्रयोगकर्ताले मोबाइल एपको प्रयोग गरेर गाडी चलाउने लगायत लोकेसन पत्ता लगाउने जस्ता फङसनमा काम गर्न सक्छन् ।
असक्त व्यक्तिहरूको यात्रालाई ध्यानमा राख्दै उनीहरू स्वतन्त्र रुपले हिँडडुल गर्न पाउन भन्ने उद्देश्य सहित यो गाडीको निर्माण गरिएको गौतमले बताए । यस्तै १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको नेपाल आईओटी च्यालेन्जअन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् ।
प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए । पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।












