राेमाञ्चक खेलमा आर्सनमाथि युनाइटेडको जित
काठमाडाैं, मंसिर १७ : पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । बिहीबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा भएको...
काठमाडाैं, मंसिर १७ : पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । बिहीबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले आर्सनलमाथि ३–२को रामाञ्चक जित निकाल्यो ।
रोनाल्डाेको २ गोल मद्दतमा युनाइटेडले सुरुआतमै एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । युनाइटेडका लागि अर्को गोल ब्रुनो फर्नान्डेसले गरे। आर्सनलका लागि इमिल स्मिथ रो र मार्टिन ओडेगार्डले गोल गरेका थिए।
खेलको १३औं मिनेटमा स्मिथ रोले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनले मोहम्मद इलेनीको पासमा गोल गरेका थिए। तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले फ्रेडको पासलाई सदुपयोग गर्दै गोल गरेपछि खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।
५२औं मिनेटमा युनाइटेडले खेलमा अग्रता लियो । रोनाल्डोले मार्कस रास्फोर्डको पासमा गोल गर्र्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। १ गोलले पछि परेको २ मिनेट नबित्दै आर्सनलले बराबरी गोल फर्कायो । ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २–२ को अवस्थामा आयो।
तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३–२ ले विजयी भयो । आर्सनलका ओडेगार्डले युनाइटेडका फ्रेडलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए।
जितपछि युनाइटेड १४ खेलबाट २१ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ भने आर्सनल १४ खेलबाट २३ अंकसहित पाँचौं स्थानमा छ।











