नेपालमा ‘अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप’ हुँदै , अमेरिकन रेस्लरसँग जुरेली भिड्ने
काठमाडौं, मंसिर १६ : नेपाल महिला रेस्लिङ फाउण्डेसनको आयोजनामा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ ।उक्त प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका पुरुष तथा...
काठमाडौं, मंसिर १६ : नेपाल महिला रेस्लिङ फाउण्डेसनको आयोजनामा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ ।
उक्त प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका पुरुष तथा महिला रेस्लरहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यहि मंसिर १८ गते राजधानीको भृकुटिमण्डपमा हुने प्रतियोगितामा नेपालसहित अमेरिका, पाकिस्तान र भारतका रेस्लरहरुले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली महिला रेस्लिङ फाउण्डेसनको तर्फबाट छैटौँ पटक आयोजना हुन लागेको यो प्रतियोगितामा चर्चित अमेरिकन रेस्लर पोलान्को नेफ्रेटिरी (जेसी स्ट्रोङ्ग), पाकिस्तानी खेलाडी कोभु ब्रान्ड, भारतीय खेलाडी गोपाल शर्मा र जोर्डन हुर्रसँगै नेपालका आधा दर्जन रेस्लरहरुले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाकी अध्यक्ष भगवती खड्का युनिकाले बताइन् ।
शनिबार दिउँसो १२ बजे उद्घाटन हुने यो कार्यक्रममा अमेरिकी रेस्लरसँग नेपाली चर्चित महिला रेस्लर अस्मिता जुरेलीले प्रतिस्पर्धा गर्ने तय भइसकेको छ भने पाकिस्तानी खेलाडी कोभु ब्रान्डन सँग कुमार थापा नेपाली ब्रोले प्रतिस्पर्धा गर्नेछन् भने भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्रले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न लागेकी ‘जुरेली’ पछिल्लो क्रममा मोडलिङ तथा फिल्म अभिनयमा समेत सकृय छिन् । प्रतियोगितामा नेपाली महिला रेस्लरहरु स्नेहा थापा मगर, जमुना तामाङ, गिता जिरेल, मनिषा रानाभाट, सपना तामाङ लगायतले समेत विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।











