वाग्मतीका कान्छा प्रतिनिधि सविन भन्छन्– देशका लागि उदाहरणीय काम गर्नु छ
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आएकाहरू यतिखेर अर्थपूर्ण ढंगले पार्टी राजनीतिमा मोडिएको देख्न सकिन्छ। २०७३ सालयता नेविसंघको महाधिवेशन हुनु नसक्दा युवाहरू पार्टीको मूल राजनीतिक धारमा होमिएको भनी विश्लेषण हुने थालेको छ।
काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसमा युवा आकर्षण बढ्दो छ। सो पार्टीका १४औं महाधिवेशनअन्तर्गत वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्रदेखि जिल्लासम्म सम्पन्न अधिवेशनहरुमा युवाहरू विभिन्न पदमा उम्मेदवार बनेको विषयले त्यसलाई पुष्टि गर्छ।
कांग्रेस राजनीतिमा युवाहरूको आकर्षण र आगमनका कारण लामो समयदेखि राजनीतिमा सक्रिय रहेकाहरू छायामा पर्ने सम्भावना रहेको आकलन पनि गरिएको छ। वास्तवमा महाधिवेशन पार्टीलाई जीवन्त बनाउने एउटा महत्वपूर्ण अवसर हो । त्यसमा युवापुस्ताको आकर्षणलाई आशाजनक मात्र मानिँदैन पार्टीको सुदूर भविष्य पनि सुरक्षित हुने विश्वास समेत गरिन्छ।
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहँदै आएकाहरू यतिखेर अर्थपूर्ण ढंगले पार्टी राजनीतिमा मोडिएको देख्न सकिन्छ। २०७३ सालयता नेविसंघको महाधिवेशन हुनु नसक्दा युवाहरू पार्टीको मूल राजनीतिक धारमा होमिएको भनी विश्लेषण हुने थालेको छ। पार्टी राजनीतिमा युवापुस्ता प्रवेशलाई सकारात्मक रूपमा लिनुपर्ने आवाज पनि पार्टी वृत्तमा उठ्ने गरेको छ।
पार्टी महाधिवेशनका लागि भएका अधिवेशनको दौरानमा सम्भावनाका रूपमा देखापरेका, रामेछापका सविन विश्वकर्मा। भर्खर २३ वर्षमा लागेका उनी रामेछाप कांग्रेसबाट दलित समुदायको प्रतिनिधित्व गर्न सफल भएका हुन्। उनी पदम र अमृताका कान्छा छोरा हुन्। २०५५ भदौ १७ गते रामेछापमा उनको जन्म भएको हो।
प्रदेशका लागि महाधिवेशन प्रतिनिधि निर्वाचित भएसँगै रामेछापको गोकुलगंगा गाउँपालिका–४ का स्थायी बासिन्दा सविन वाग्मती धेरैका लागि आशा र भरोसाका केन्द्र बनेका छन् । असोज १४ गते सम्पन्न अधिवेशनबाट उनले रामेछाप–१ प्रदेश ‘क’ बाट २९६ मत ल्याई प्रदेश अधिवेशन प्रतिनिधिका लागि आफूलाई योग्य बनाएका थिए। उनी वाग्मती प्रदेशभरिकै कान्छो प्रतिनिधिसमेत हुन्।
सविन दलितका तर्फबाट उम्मेवार हुँदा सोही पदमा अरू तीन प्रतिस्पर्धी थिए । तर, अन्य प्रतिस्पर्धीलाई दोब्बर बढी मतले उछिनेर उनी प्रदेश प्रतिनिधि बन्न सफल भएका हुन्।
सविन नेविसंघका सक्रिय एवं प्रभावशाली विद्यार्थी नेता हुन्। उनी १४ वर्षको उमेरमै नेविसंघमा आबद्ध भएका थिए। उनको राजनीतिक यात्रा रामेछापकै श्री जनजागृति उच्च माविबाट सुरु भएको हो । उनी सोही विद्यालयमा २०६७–६८ मा नेविसंघ एकाइ सभापति रहे । ‘विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय छु,’ उनले भने, ‘अझै लामो राजनीतिक यात्रा गर्नु छ।’
विद्यार्थी जीवनमा नै राजनीतिक यात्रा थालेर त्यसलाई निरन्तरता दिइरहेकाले नै उनले २०६९ सालदेखि २०७२ सम्म मन्थली मावि नेविसंघ एकाइ सचिव बनेर काम गर्ने सुवर्ण अवसर पाए।
निरन्तरता, लगनशीलता र सक्रियताकै कारण उनको राजनीतिक यात्राले बिस्तारै छलाङ मार्दै गयो । जसका कारण २०७२ सालदेखि २०७६ सम्म सहिद स्मृति बहुमुखी क्याम्पस एकाइ उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेर आफूमा भएको राजनीतिक सम्भावनालाई उजागर गरे ।
उनी २०७६ सालयता कांग्रेससम्बद्ध नेपाल दलित विद्यार्थी संघको केन्द्रीय सदस्य पनि रहँदै आएका छन्। ‘रामेछापबाट खासगरी दलित समुदायका युवालाई राजनीतिमा जोड्न चाहन्छु,’ उनले भने, ‘राजनीतिक यात्रामा दलित समुदायका साथै सिंगो देशका लागि केही न केही काम परिणाममुखी र उदाहरणीय काम गर्ने लक्ष्य छ।’
पहिलो पुस्ता र आगामी पुस्तालाई राजनीतमा जोड्ने माध्यम अब युवा पुस्ता नै भएको उनको बुझाइ छ । त्यसैले अब केन्द्रमा पनि युवा पुस्ताको आगमन आवश्यक मात्र नभएर अनिवार्य रहेको उनको भनाइ छ।
प्रदेश अधिवेशन प्रतिनिधि भएपछि काम, कर्तव्य र जिम्मेवारी थपिएको महसुस भइरहेको उनले बताए। राजनीतिमा नयाँ भूमिका पाएसँगै अब उनलाई जिल्लाभरि नै काम गर्ने अवसर प्राप्त भएको छ।
‘पाइएको अवसरलाई सार्थक तुल्याउनु छ, सबैभन्दा मुख्य कुरा कांग्रेसभित्र दलितको प्रतिनिधित्व उदाहरणीय बनाउनु छ,’ उनले भने, ‘समग्रमा सिंगो समाजलाई नेतृत्व गरेर राष्ट्रकै उत्थानमा योगदान दिनु छ।’
उनको पारिवारिक पृष्ठभूमि पनि कांग्रेस नै हो । त्यसकारण आफ्नो राजनीतिक यात्रामा कुनै कठिनाइ नआएको उनले सुनाए ।












-(86)-1764936079.jpg)