नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आज...
काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले आज पत्रकार सम्मेलन गरी समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताए। नेपाल दलित सङ्घका पूर्वकेन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै कांग्रेस राजनीतिमा सक्रिय छन्।
उनले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउन आफूले उम्मेदवारी दिएको बताउँदै कांग्रेसले निम्न आय भएका तथा सुकुम्वासी, भूमिहीन, दलित, मजदुर वर्गका मुद्दालाई उठाउनुपर्ने धारणा व्यक्त गरे।
युवा नेता रसाइली २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सङ्घीय सांसद हुन्। कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।












