‘विप्लव’ नेतृत्वको पार्टी विभाजित भई बन्याे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)

काठमाडाैं, मंसिर १५ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ।
आज (बुधबार) रिपोर्टर्स क्लबमा गरिएको पत्रकार सम्मेलनमा गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको जानकारी दिइएको हो।
कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले नवगठित पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको जानकारी दिए। पार्टी महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको उनले बताए।
उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको उनको भनाय थियो। विप्लव अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटो तय गरेकाले नेकपा (क्रान्तिकारी) गठन गर्नुपरेको गोपालीले बताए।
‘२०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेइमानी र जालसाजी हो। वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमत संग्रहबाट आउने सक्दैन। वैज्ञानिक समाजवादको सिद्धान्त आफैंले उत्पन्न गर्नुपर्छ।’












