जुम्लाको सिम्जामा बस दुर्घटना, दुईजनाको मृत्यु
कर्णाली, मंसिर १५ः जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ना ६ ख ४४३८ नं को बस आज...कर्णाली, मंसिर १५ः जुम्लाको सिञ्जा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ना ६ ख ४४३८ नं को बस आज बिहान करिब ८ बजे दुर्घटना भएको हो ।
कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिञ्जा–१ थार्पीबाडास्थित सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिए।
उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बस चालक नवीन रावल र पचाल झरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको उनले बताए।
उनका अनुसार बसमा चारजना सवार थिए । दुर्घटनाको जानकारी पाउने बित्तिकै घाइतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाइएको उनले जानकारी दिए । घटनास्थलमा प्रजिअ प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द घटनास्थलतर्फ गएका थिए।
उक्त दुर्घटनामा परी टाउकामा चोट लागेर गम्भीर घाइते भएका कनकासुन्दरी–७ जियापाटा निवासी ३२ वर्षीय वीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्स घटनास्थल पुगेर फर्केको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।