जीर्ण भवनमा पठनपाठन, २ हजार विद्यार्थीको ज्यान जोखिममा
जलेश्वर, मंसिर १५ः महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो । तर निर्माणको कुनै सुसार...
जलेश्वर, मंसिर १५ः महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यमिक विद्यालयमा ‘नमूना विद्यालय’का लागि बजेट आएको दुई वर्ष बितिसक्यो । तर निर्माणको कुनै सुसार छैन । जिल्लाकै पुरानो विद्यालय लचमुमा आर्थिक वर्ष २०७६/०७७ मा र आव २०७७/०७८ मा गरी रु तीन करोड रकम विनियोजन गरिँदा पनि नमूना विद्यालयको जग समेत हाल्न सकिएको छैन ।
प्रधानाध्यापक सञ्जीवकुमार झाका अनुसार सरकारले नमूना विद्यालय कार्यक्रमअन्तर्गत सो विद्यालयलाई भौतिक संरचना निर्माण र शैक्षिक अवस्था सुधार गर्न वर्षेनी रु डेढ करोडका दरले पाँच वर्षसम्म रकम उपलब्ध गराउनेछ । अहिले दुई आर्थिक वर्षको रकम पनि पठाइसकेको छ । विद्यालयमा आन्तरिक कलह र भागबण्डा नमिल्दा नमूना विद्यालयको काम अगाडि बढ्न नसकेको स्थानीयवासीको आरोप छ।
प्रधानाध्यापक झाले नमूना विद्यालय निर्माणका लागि रु तीन करोड विद्यालयको खातामा आएको जानकारी दिए । ‘जलेश्वर नगरपालिका र वडा कार्यालयले सहयोग नगरेका कारण काम अघि बढेको छैन’, उनले भने । स्थानीय तहसँग समन्वय र सहकार्य गरी प्राविधिक सहयोग लिएर कामको थालनी गर्न निर्देशन आएको भए पनि नगरपालिकाले प्राविधिक नपठाउादा बोलपत्र प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ।
विद्यालयमा १२ कोठे तीनतले भवन, हल र पुस्तकालय बनाउने योजना छ । रु दुई करोड ५० लाख भवन निर्माणतर्फ र रु ५० लाख शैक्षिक अवस्था सुधारतर्फ खर्च गर्ने योजना रहेको झाले बताए। वडाध्यक्ष बरुणकुमार दाहाल र जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई सहयोगका लागि पटक–पटक मौखिक र लिखित अनुरोध गरिए पनि दुवै जनाले उदासिनता देखाएको प्रधानाध्यापक झाको आरोप छ।
विद्यालय व्यवस्थापन समिति र नगरपालिकाबीच समन्वयको अभाव देखिएको छ । व्यवस्थापन समितिको पहलमा नगरपालिकाले प्राविधिक सहयोग गरेपछि मात्रै बोलपत्र प्रक्रियामा जाने भएकाले नमूना विद्यालयको काम अघि बढ्नेमा अन्योल छ । वडाध्यक्ष दाहालले आफूले विद्यालय निर्माणका लागि सक्दो पहल गरेको बताए। जलेश्वर नगपालिकाका प्रमुख मिश्रको भने कामको सुरुआत नहुनुमा विद्यालय नै दोषी भएको आरोप छ।
‘प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच नै समझदारी छैन’, उनले भने। विद्यालय व्यस्थापन समितिका अध्यक्ष लालबाबु साह नगरपालिकाले प्राविधिक सहयोग नगरेका कारण काममा बाधा पुगेको बताए।
दुई वर्षअघि तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश नं २ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश नं २ का प्रदेशसभा सदस्य रानीकुमारी तिवारीसहितको टोलीले नमूना विद्यालयको शिलान्यास गरेका थिए । विद्यालयमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षाकोठा अभावमा उनीहरु जीर्ण भवनमा पठनपाठन गर्न बाध्य छन्। (रासस)












