हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण
काठमाडौं, मंसिर १२ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ। महाशाखाले...
काठमाडौं, मंसिर १२ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ। महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो।
महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, कङ्लकी, भैँसेपाटी, भीमसेनगोला, गङ्गालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मङ्गलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भूलगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेको थियो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत ती मोटरसाइकल वरामद गरेको जानकारी दिए।
सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’ लगइन गरेर निवेदन दिन सकिन्छ। सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ।
यस आर्थिक वर्ष २०७८÷७९ मा हराएका १७६ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीका लागि पठाएको महशाखाले जनाएको छ।












