आवश्यकता नपर्ने भए किन बस्ने? भन्दै मन्त्री यादव बैठकबाट बाहिरिन खोजेपछि...
काठमाडौं, भदौ ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयबारे न....
काठमाडौं, भदौ ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयबारे निर्णय गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी दिएका हुन्।
सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसँग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बनेका थिए।
मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने? भन्दै बसेको कुर्सीबाट उठेर बाहिरिन खाजेका थिए। बैठक छोडेर मन्त्री बाहिरिन खोजेपछि केहीबेर स्थिति असहज बनेको थियो।
औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको सुरुदेखि नै तनावपूर्ण बनेपछि समितिका सदस्यहरुले समितिको संवैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायतबारे आवश्यक ज्ञान राख्न मन्त्री यादवलाई सुझाएका थिए।
समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपछि बैठक निर्धारित विषयवस्तुमा प्रवेश नै नगरी शुक्रबार बस्ने गरी स्थगित भएको छ।






