Kathmandu Press

अब डा. बाबुराम भट्टराई संसदभित्र सत्तापक्षको आसनमा

काठमाडौं, भदौ ५: प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि सत्तापक्षकाे आसनमा सरेका छन्।

निर्वाचन आयोगले पार्ट....

अब डा. बाबुराम भट्टराई संसदभित्र सत्तापक्षको आसनमा
काठमाडाैंप्रेस

काठमाडौं, भदौ ५: प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि सत्तापक्षकाे आसनमा सरेका छन्।

निर्वाचन आयोगले पार्टी एकीकरणबारे साउन २३ गते पठाएको पत्र प्रतिनिधिसभामा पढ्ने भएपछि प्रतिपक्षमा बस्दै आएका उनको आसन सत्तापक्षमा सरेकाे हाे। 

आजको बैठकको सुरुमा नै सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम, नेपाल र नयाँशक्ति पार्टीबीच एकीकरण भई समाजवादी पार्टी नेपाल गठन भएको सूचना पढेर सुनाएका थिए। 

केही साताअघि नेकपा सांसद् विरोध खतिवडाले उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दल– समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. भट्टराईलाई आसन देखाइदिन सभामुख महरासंग माग गरेका थिए। त्यसबेला सभामुखले पार्टी एकतासम्बन्त्री पत्र प्राप्त नभएको जानकारी गराउँदै पत्र प्राप्त भएपछि आसन फेरिने बताएका थिए। 

सभामुखले पत्र वाचन गरेलगत्तै सांसद् खतिवडाले आफ्नो आसनमा उभिएर हात उठाएका थिए। सभामुखसँग समय मागे। सभामुख महराले खतिवडालाई भने, ‘आयो (पत्र)। त्यति भए पुग्यो। धन्यवाद त भन्नै पर्दैन।’

खतिवडाले आधा मिनेट भन्दै समय माग गरे । सभामुखले मुसुक्क हाँसेर ‘विरोध खतिवडा’ भन्दै माइक दिएपछि उनले भने, ‘मैले बीचमा सदनमा कुरा उठाएको थिएँ । सभामुखबाट रुलिङ भएको थियो । संसद्मा मन्त्रीहरूसँग गाँसिएर उठेका धेरै विषय लागू भएको थिएन। यो मैले उठाएको विषय लागू भयो। धन्यवाद !’

उनले हाम्रो नियमावलिको विषय मात्र नभई नेपाली संस्कार उल्लेख गर्दै खतिवडाले पार्टी एकतापछि डा. भट्टराई सत्ता पक्षमा बसेकै सुहाउने बताए। उनले भने, ‘सामान्यतः विवाह भइसकेपछि प्रेमीसँग बसेको भन्दा पतिसँग बसेकै राम्रो देखिन्छ। माइत बसेको भन्दा घरमै बसेको राम्रो देखिन्छ। सुरु सुरुमा अलि अलि लाज लाग्छ, क्रमशः यो घट्दै जान्छ।’ 

खतिवडाले यस्तो टिप्पणी गर्दा डा. भट्टराई सत्तापक्षको अग्रस्थानमा बसेर सुनिरहेका थिए। उनी यसअघि राष्ट्रिय जनता पार्टीका सांसद्हरूसँगै प्रतिपक्षी आसनमा बस्दै आएका थिए। 
 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, भदौ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्