Kathmandu Press

मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं, मंसिर ११ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताएका...
मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडाैं, मंसिर ११ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताएका छन्।

फाउण्डेशन फर क्रिटिकल डिस्कोर्ष नेपालले आज यहाँ आयोजना गरेको ‘समकालीन पूँजीवाद र नेपालमा समाजवादी आन्दोलन’ विषयक छलफलमा नेता खनालले विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिए।

Hardik ivf

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिए।

माक्सकाे पूँजीवादी पालादेखि हालको वैज्ञानिक समाजवादको सुरुआत चरणको व्यवस्थाबारेमा सम्मानित नेता खनालले धारणा राखेका थिए। उनले क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुनेमा जोड दिए। उनले दलाल पूँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताउँदै अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राखे। दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अशेष घिमिरे, नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला, डा खगेन्द्र प्रसाईँलगायतले राष्ट्रिय पूँजीको माध्यमबाट उत्पादन बढाउन त्यसका स्रोत र साधनलाई समाजको नियन्त्रणमा राख्नुपर्नेमा जोड दिँदै जनतासम्म प्रतिफल पुर्‍याउन न्यायोचित वितरण प्रणाली अवलम्बन गर्नुपर्ने बताए।

प्रकाशित मिति: १९:०४ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्