काँग्रेसको गुल्मी जिल्ला अधिवेशनः मतपत्रमा संकेत देखिएपछि मतदान रोकियो

काठमाडौँ, मंसिर ११ः नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीमा जारी मतदान रोकिएको छ। मुसिकोट नगरपालिकाको मतदान केन्द्रमा मतदान चलिरहँदा मतपत्रमा संकेत देखिएपछि मतदान प्रकृया रोकिएको हो।
मतदान चलिरहेका बेला मतपत्रमा अर्धकट्टी र क्रम संख्या उल्लेख गरिएको फेला परेपछि सभापतिका उम्मेदवार वेदबहादुर थापाले आपत्ति जनाउँदै निर्वाचन समितिलाई लिखित पत्र दिएर मतदान रोक्न आग्रह गरेका हुन्।
‘मतपत्रमा अर्धकट्टी र मतपत्रमा क्रम संख्या उल्लेख गरी नियोजित तरिकाबाट धाँधली गरिएको र त्यसमा मेरो असहमति भएको हुँदा सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगन गरी स्वच्छ मतदानको वातावरणमा निर्वाचन गराउनु अनुरोध छ,’ थापाले निर्वाचन समितिलाई बुझाएको पत्रमा भनिएको छ।
थापा संस्थापन पक्षका उम्मेदवार हुन भने संस्थापन इतर पक्षबाट खिलध्वज पन्थी नेतृत्वको प्यानलले उम्मेदवारी दिएको छ।












