Kathmandu Press

चिकित्सा शिक्षा आयोगमा किन अयोग्यलाई सिफारिस गरियो? : सांसद श्रेष्ठ

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका सांसद एवं शिक्षाविद् उमेश श्रेष्ठले डा.गोविन्द केसी लगायतको लगातारको आन्दोलनपछि जारी भएको ऐन अनुसार गठन हुन लागेको....

चिकित्सा शिक्षा आयोगमा किन अयोग्यलाई सिफारिस गरियो? : सांसद श्रेष्ठ

काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका सांसद एवं शिक्षाविद् उमेश श्रेष्ठले डा.गोविन्द केसी लगायतको लगातारको आन्दोलनपछि जारी भएको ऐन अनुसार गठन हुन लागेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनै जना अयाेग्य सिफारिस गरिएको भन्ने विषयमा सरकारको ध्यानकर्षण गराएका छन्। 

बिहीबार संसदको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले मेडिकल शिक्षाको प्रवेश परिक्षा, छात्रवृत्ति, अनुगमन, मूल्यांकन लगायतका विषयमा काम गर्ने आयोगको उपाध्यक्षमा कानुन अनुसार अयोग्य व्यक्ति सिफारिस भएको विषयमा स्पष्ट पार्न स‌ंसदमार्फत सरकारलाई आग्रह गरेका हुन्।

आयोगको उपाध्यक्षका लागि सिफारीस समितिले सिफारिस गरेको तीनै जना चिकित्सककाे शिक्षा ऐन अनुसारको योग्यता पुगेको छैन।  गत साता आयोगको उपाध्यक्षका लागि सिफारिस समितिले चिकित्सकहरु सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीलाइ सिफारिस गरेकाे छ। 

याे पनि : चिकित्सा शिक्षा आयोगकाे उपाध्यक्षमा सिफारिस तीनै जना अयोग्य

सांसद श्रेष्ठले गोविन्द केसीको आन्दोलन अनुसार चिकित्सा शिक्षालाई व्यवस्थित र मर्यादित बनाउन राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी भएको तर मुल मर्ममै प्रहार गर्नेगरी आयोग गठन नै ढिला गर्ने र सिफारिस नै अयोग्य व्यक्तिलाई गराउने विषयमा सरकारको गम्भीर ध्यानकर्षण गराए। 

‘सिफारिस समितिले उपाध्यक्षका लागि तीन जनाकाे नाम सिफारिस गरेको तर, तीनै जना ऐनले तोकेको योग्यता नपुगेको भन्ने समाचार आएको छ’ सांसद श्रेष्ठले भने, ‘एक त आयोग गठनमै ढिलाई गर्ने त्यसपछि गठन हुन लागेको आयोगको उपाध्यक्षको सिफारिस गर्दा मापदण्डको ख्यालै नगर्ने ? यसभित्रको नियत के हो? के मेडिकल शिक्षालाई थप बिगार्न र अस्तव्यस्त बनाउन खोजिएको हो?’

उनले आयोग गठन नहुँदा मेडिकल शिक्षाको प्रवेश परीक्षा, छात्रबृत्ति, अनुगमन लगायतका सम्वन्धमा समेत थप अन्यौलता सिर्जना भएको पनि बताए। ‘सरकारी मेडिकल कलेजबाट ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्थाबाट पनि आयोग बन्न नसक्दा बञ्चित हुने अवस्थामा पुगेको छ’ श्रेष्ठले भने, ‘यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गर्दछु।’

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वको तीन सदस्यीय समितिले गरेको सिफारिस मापदण्ड विपरीत भएको काठमाडौं प्रेसले सबैभन्दा पहिला सार्वजनिक गरेको हो। 

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ ५, २०७६