Kathmandu Press

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

काठमाडौं, मंसिर ११ : पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न...
पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

काठमाडौं, मंसिर ११ : पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन्।

वाग्मती सफाइ महाअभियानको ४४६औं हप्तामा सिनामङ्गलस्थित वाग्मती पुलमुनिको नदी किनारमा सफाइ गर्दा पशुपति आर्यघाटबाट बगेर आएको बाँस, लुगाफाटोलगायत फोहर धेरै भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।

पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको पनि उनले बताए।

Hardik ivf

पशुपति आर्यघाटमा दाहसंस्कारमा प्रयोग हुने दाउराको व्यवस्थापन भने राम्रोसँग भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ। आर्यघाबाट आएको बाँस, लुगाफाटोलगायत फोहरले नदी सफाइमा अप्ठ्यारो भएको अभियानकर्मीको गुनासो छ। यसैले कोषलाई छिटो समस्या समाधानका लागि आग्रह गरिएको अभियानकर्मी शाहीले सुनाए।

राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान जारी छ। महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा चाडपर्व, जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपलगायत प्रतिकूल अवस्थामा पनि सफाइ जारी रहने गरेको छ। जाडोमा बिहानै अभियानकर्मी स्वयंसेवाका लागि वाग्मती नदी किनारमा पुग्ने गरेका छन्।

सिनामंगल पुलमुनिको वाग्मती किनारमा भएको आजको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, हलेसी डेकोर, काठमाडौँ महानगरपालिका फोहरमैला  व्यवस्थापन विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो। सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४१५औं हप्तामा गोठाटार पुल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। विगत १० हप्तादेखि शुन्य फोहर अवधारणाअन्तर्गत सफाइ भइरहेको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहनुभएका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए।

फोहरलाई स्रोतमै वर्गीकरण गरेर यो अवधारणालाई सफल बनाउने लक्ष्य लिइएको जनाइएको छ। फोहर वर्गीकरण र व्यवस्थापनमा सबैले गौरव गर्नुपर्ने भन्दै मञ्चले यस क्षेत्रमा जागरण अभियान चलाएको छ। 

मनोहरा सफाइ अभियानको २४५औं हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोला क्षेत्रमा सफाइ गरिएको छ। मनोहरा सफाइ तथा सम्पदा बचाउ अभियानको आयोजनामा भएको सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिए। सफाइबाट एक गाडी फोहर व्यवस्थापन भएको छ। फोहर काठमाडौं महानगरपालिकाको गाडीले लगेको जनाइएको छ।

यसैगरी आज रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरीखोला लगायत स्थानमा पनि सफाइ गरिएको छ। वाग्मती सफाइ महाअभियान सुरु भएपछि यी सफाइ अभियान सुरु भएका हुन्। महाअभियान सुरु भएपछि हाल काठमाडौं उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ।

यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई भएको सफाइ हाल देशभर १०८ स्थानमा भइरहेको छ। अभियानमा स्थानीयवासीको सक्रियता बढ्न नसकेको, स्थानीय सरकारले सफाइलाई स्वामित्व नलिएकोलगायत गुनासो अभियानकर्मीले पोख्ने गरेका छन्।

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्