हनुमानढोकास्थित पृथ्वीनारायण शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा
काठमाडौँ, मंसिर १०ः विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि...
काठमाडौँ, मंसिर १०ः विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।
पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै काम सकेरभित्र साजसजावटका काममात्र बाँकी छ।
अड्डाले नै ठेक्का गरी रु दुई करोड ५८ लाख ४५ हजार ६२३ को लागतमा कक्ष पुनःनिर्माण भइरहेको इञ्जिनीयर रोशन डङ्गोलले जानकारी दिए । विसं २०७७ जेठ ९ गते पुनःनिर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनःनिर्माणको अवधि बाँकी रहेको उनले सुनाए । अवधिअगावै काम सम्पन्न हुने जनाइएको छ । पचली भैरव एण्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनःनिर्माण काम गरिरहेको छ।
कक्षसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट कान्तिपुर विजयका लागि हिँड्नुअघि ल्याएको कँडेल भगवतीको मन्दिर पनि रहेको छ । कान्तिपुर विजय भएमा भगवतीलाई यहीँ स्थापना गर्ने वाचासहित पृथ्वीनारायण शाहले भगवतीलाई ल्याएको इतिहासविद्को भनाइ रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका सङ्ग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिए।
भगवतीलाई अहिले पनि चैत महिनामा जात्राका लागि नुवाकोट लैजाने परम्परा छ । पहिले पैदल नै भगवतीको प्रतिमूर्ति जात्राका लागि नुवाकोट लैजाने गरिएकामा अहिले सवारीमार्फत लगिन्छ । नुवाकोटबाट ल्याएर स्थापना गरिएकाले वर्षमा एकपटक चैतमा जात्राका लागि देवीलाई मूल थलोमा लैजाने गरिएको हो।












