‘कर्णाली प्रदेशले न्यूनतम एक पदाधिकारी वा सचिव सर्वसम्मत पाउनुपर्यो’
हामीले कर्णाली प्रदेशबाट न्यूनतम रूपमा एक पदाधिकारी वा सचिवमा सर्वसम्मत ढंगले दाबी गर्ने निर्णय गरेका छौँ ।
असोजमा सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनले केन्द्रमा १५ पदाधिकारीको व्यवस्था गरेको छ। जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव एक–एक जना, उपाध्यक्ष चार र सचिव सात जना रहने व्यवस्था छ। आज (१० मंसिर) देखि भइरहेको एमालेको १०औं महाधिवेशनमा कर्णाली प्रदेशले एक पदाधिकारीमा दाबी गर्ने कर्णाली प्रदेश कमिटीका सहसंयोजक यामलाल कँडेलले बताएका छन्। एमालेले पदाधिकारीमा दाबी गर्नुपर्ने अवस्था किन आयो ? प्रस्तुत छ, यसै सन्दर्भमा काठमाडौं प्रेसकर्मी सोनी शाहीले कँडेलसँग गरेको वार्ताः
कर्णाली प्रदेशलाई एक पदाधिकारी चाहियो भनी माग राख्नुभएको छ, कर्णालीबाट योभन्दा बढी नआउने भएर यसो भन्नुभएको हो कि ?
अहिलेसम्म नेकपा एमालेको केन्द्र तहको पदाधिकारीमा कर्णालीको प्रतिनिधित्व छैन। योभन्दा अगाडि नेतृत्व तहमा पदाधिकारीको संख्या थोरै हुन्थ्यो वा सानो संख्यामा हुन्थ्यो। तर, हामीले सम्पन्न गरेको विधान महाधिवेशनबाट मुलुकको प्रादेशिक ढाँचालाई ध्यानमा राखेर उल्लेखनीय रूपमा पदाधिकारीको संख्या बढाएका छौँ। यो अवस्थामा हामीले कर्णाली प्रदेशबाट न्यूनतम रूपमा एक पदाधिकारी वा सचिवमा सर्वसम्मत ढंगले दाबी गर्ने निर्णय गरेका छौँ ।
सातै प्रदेशबाट पदाधिकारीमा कस्तो प्रतिनिधित्व हुने अवस्था देख्नुभएको छ ?
नेकपा एमालेको विधानमा सातै प्रदेशबाट पदाधिकारी सुनिश्चित गरेको अवस्था होइन। तर, व्यावहारिक ढंगले सिंगो भूगोलको प्रतिनिधित्व गर्ने गरी पदाधिकारी चयन गर्दा राम्रो हुन्छ। तर, वैधानिक व्यवस्था भूगोल केन्द्रित छैन।
अहिले पदाधिकारीमा जहाँबाट जसले पनि दाबी गर्न पाउने अवस्था छ। तर, कर्णालीमा हालसम्म कार्यरत केन्द्रीय सदस्य र त्यहाँका १० जिल्ला अध्यक्षहरूको सामूहिक सल्लाहबाट हामी के टुंगोमा पुग्यौँ भने न्यूनतम एक पदाधिकारीमा हामीले दाबी गर्नुपर्ने हुन्छ। हामीमध्येबाट कोही कसैले उम्मेदवारी दिनुपर्ने एउटा अवस्था रहन्छ।
मुलुक प्रादेशिक ढाँचामा गएको जुन अवस्था छ, एमालेको नीति निर्माण गर्ने तहमा कर्णाली प्रदेशको प्रतिनिधित्व यसपटकको महाधिवेशनमा अनिवार्य उपस्थिति गराउने गरी हामी अगाडि बढ्नुपर्छ। यद्यपि कर्णालीका प्रतिनिधिले मात्रै भोट गरेर कर्णालीले प्रतिनिधित्व पाउने होइन, देशभरबाट आउने प्रतिनिधिको सहयोग समर्थनबाट हुने कुरा हो।
विधान महाधिवेशनले केन्द्रमा १५ पदाधिकारीको व्यवस्था गरेको छ, यसमा पनि थपघट हुनुपर्ने यहाँहरूको माग हो कि ?
अहिले नेकपा एमाले बहुमनोविज्ञानको पार्टी हो। यसमा नाम एमाले भए पनि नेकपाको निरन्तरताको पार्टी हो। यसमा पहिलेदेखि नेकपा एमालेमा मात्र रहिरहनुभएका साथीहरू हुनुहुन्छ, एमालेभित्रै १० बुँदेको नाममा जोडिनुभएका साथीहरू हुनुहुन्छ, माओवादी केन्द्रका साथीहरू हुनुहुन्छ, विभिन्न वामपन्थी दलबाट आएका साथीहरू हुनुहुन्छ।
धेरै मनोविज्ञान रहेका नेता, कार्यकर्ताको पार्टी भएकाले ‘कोही पनि नेकपा एमालेमा असुरक्षित छैनन् है, सबै सुरक्षित छन्’ भन्ने कुराको सन्देश पनि यो महाधिवेशनबाट दिन जरुरी छ। यस आधारबाट पनि हामीले विचार र दृष्टिकोण बनाउनुपर्ने हुन्छ।
-1749048439.jpg)