Kathmandu Press

नयाँ बसपार्कको गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

काठमाडौं, भदौ ४ : काठमाडौंको नयाँ बसपार्कको एक होटलमा महिला र पुरुष मृत भेटिएका छन्। 

नयाँ बसपार्कको मोरङ पर्वत गेष्ट हाउसको ....

नयाँ बसपार्कको गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए
सांकेतिक

काठमाडौं, भदौ ४ : काठमाडौंको नयाँ बसपार्कको एक होटलमा महिला र पुरुष मृत भेटिएका छन्। 

नयाँ बसपार्कको मोरङ पर्वत गेष्ट हाउसको १११ नम्बर कोठामा बुधबार अपरान्ह चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सविना बजगाईं मृत भेटिएका हुन्। 

प्रहरीका अनुसार उनीहरु गएराति ११ बजे होटलमा बस्न आएका थिए।  घटनाबारे अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए।

महिलाको शव खाटको तलपट्टी नग्न अवस्थामा र पुरुषको शव खाटमाथि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान खाना खान बोलाउँदा ढोका नखोलेपछि होटल मालिकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार होटलका कोठामा मदिराका बोतलहरु फेला परेपनि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि भेटिएका छैनन्। घटनास्थलमा फरेन्सिक विज्ञको टोली पुगेको र परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुबैको शब पोर्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ।

मृतक पुरुष र महिला दुबै विवाहित रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, भदौ ४, २०७६