मेलम्चीको बाँकी काम सक्ने ठेक्का चिनियाँ कम्पनीलाई, दशैंअघि नै काम सुरू हुने
काठमाडौं, भदौ ४ : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्ने ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। सिनो हाइड्रोलाई १ अर्ब ६५ करोड रुप....
काठमाडौं, भदौ ४ : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्ने ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। सिनो हाइड्रोलाई १ अर्ब ६५ करोड रुपैयाँमा ठेक्का दिने तय भएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख सूर्यराज कँडेलले दिएको जानकारीअनुसार, मेलम्ची खानेपानी विकास समितिले ऋणदाता एसियाली विकास बैंक (एडीबी) बाट स्वीकृति पाएपछि बैंक ग्यारेन्टीसहित प्रक्रिया पुर्याएर सम्झौता गर्न आउन सिनो हाइड्रोलाई पत्र पठाइसकेको छ। आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि बोलाइसकेको छ।
इटालियन ठेकेदार सिएमसीले अधुरै काम छाडेर बीचमै भागेपछि बाँकी काम सम्पन्न गर्न पुनः बोलपत्र आव्हान गरेर सिनो हाइड्रोलाई छनौट गरिएको हो। सिनो हाइड्रोले अब बाँध (हेडवक्र्स) र सुरुङ (टनेल) फिनिसिङको काम सम्पन्न गर्ने जिम्मा पाएको हो। विभिन्न जलविद्युत आयोजनाहरुको निर्माणमा संलग्न रहेको उक्त कम्पनी अनुभवीसमेत रहेको दाबी आयोजनाको छ।
बोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरेर एक महिनाभित्र ठेकदार कम्पनीले काम थालिसक्नुपर्ने छ। सिनो हाइड्रोले तामाकोशी हाइड्रोपावरको काम भर्खरै सम्पन्न गरेको छ । ऊसँग मेसिन र जनशक्ति तयार रहेकाले दशैंअघि नै काम सुरु गर्ने तयारी छ।
यसअघि अनुमानित लागतभन्दा बाँध निर्माणमा ९० करोड रुपैयाँ (२९ प्रतिशत) कम र सुरुङ निर्माणमा ७५ करोड (१५ प्रतिशत) कम लागतमा सम्पन्न गर्ने गरी बोलकबोल गरेको सिनो हाइड्रोलाई आयोजनाको मूल्यांकन समितिले उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो।
एडीबीले १२ अगष्टमा चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो। आयोजनाले १३ अगष्टमा निर्माण व्यवसायी छनोटमा चित्त नबुझेमा सात दिन उजुरी गर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो।






