सहिद प्रतिष्ठानमा चार सदस्य नियुक्त
जनकपुर, मंसिर ९ : प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ।विभिन्न आन्दोलनका क्रममा सहिद भएका परिवार तथा घाइते...
जनकपुर, मंसिर ९ : प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ।
विभिन्न आन्दोलनका क्रममा सहिद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान निर्देशक समिति गठन गरेको हो।
प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा विभिन्न आन्दोलनमा शहीद भएकाहरुका परिवारका सदस्यलाई समितिमा नियुक्त गरेको हो।
प्रतिष्ठानले सर्लाहीका रामनरेशराय यादव, महोत्तरीकी सिम्पीकुमारी साह, सप्तरीकी कविताकुमारी ठाकुर र रौतहटका सुरेन्द्र जैसवाललाई नियुक्त गरेको जनाएको छ।
नवनियुक्त सदस्यहरुलाई आजै प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरे। मधेसी सहिद प्रतिष्ठान निर्देशिका अनुसार प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ।
आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार सदस्य तथा मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।
प्रमाणपत्र प्रदान गर्नुहुँदै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेको उपचार र उनीहरुका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्थालगायत काममा जुट्न सदस्यहरुलाई निर्देशन दिए।












