Kathmandu Press

तलबको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्नु पर्ने

नवलपरासी, भदौ ४ : नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।

ज्येष्....

तलबको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्नु पर्ने

नवलपरासी, भदौ ४ : नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।

ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने व्यवस्था गरेको हो। नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ।

यसकै आधारमा नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षकलाई आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको बैंक खातामा जम्मा गर्न आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

ज्येष्ठ नागरिकले विभिन्न समयमा यसप्रकारको माग गर्दै आएकोमा नगरपालिकाले सोहीअनुसार उनीहरुको माग सम्बोधन गर्न यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ। निजी क्षेत्रमा कार्य गर्ने कर्मचारीलाई समेत १० प्रतिशत रकम जम्मा गर्न नगरपालिकाले आग्रह गरेको छ।

देवचुलीमा व्यापार, व्यवसाय गर्ने उद्योगी र व्यापारीलाई समेत आफ्नो आम्दानीको १० प्रतिशत आमाबुबाको खातामा जम्मा गर्न आग्रह गरिएको छ। आमाबुबाको खातामा पैसा जम्मा गर्नेको विवरणसमेत सङ्कलन गर्ने जनाएको छ।

ज्येष्ठ नागरिकको सम्मानसहित उनीहरुको उपचार, पोषणमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो नीति लिइएको देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठले बताए। ‘नैतिकरुपमा आफ्ना आमाबुबाप्रति जिम्मेवार बनाउन यस्तो कदम चालिएको हो, यसले पारिवारिक सम्बन्धसमेत मजबुत बनाउन सहयोग पुग्ने छ,’ उनले भने।

 

प्रकाशित मिति: १२:४६ बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्