Kathmandu Press

म अझै १५ वर्ष तगडा हुन्छु : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफू स्वस्थ रहेको बताएका छन्। १५ वर्षदेखि तगडा रहेको र अबका १५ वर्षपनि तगडा रहने बताए।

म अझै १५ वर्ष तगडा हुन्छु : प्रधानमन्त्री ओली

काठमाडौं, भदौ ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफू स्वस्थ रहेको बताएका छन्। १५ वर्षदेखि तगडा रहेको र अबका १५ वर्षपनि तगडा रहने बताए।

बुधबार गृह मन्त्रालयमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य अवस्थका बारेमा बोलेका हुन्। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ परीक्षणका लागि बिहीबार अपराह्न सिङ्गापुर जान लागेको बताए।

उनले आफू स्वस्थ रहेको बताए। ‘म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु,’ प्रधामन्त्री ओलीले भने, ‘म १५ वर्ष अघि बिरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडा मै हुन्छु।’

उनले उपचारमा केही दिन लाग्ने बताए। संविधान दिवसभन्दा अघि नै नेपाल फर्किने उनको भनाइ थियो। प्रधानमन्त्री ओलीकै अध्यक्षतामा आज बसेको बैठकले असोज २–४ गते संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ।

उनले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैलाई आह्वान गरे। ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यसलाई राष्ट्रव्यापी साझा दिवसको रुपमा भव्यतासाथ मनाउनु पर्ने उनको भनाइ थियो।

बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘संविधान दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर रमाइलो होस्’

संविधान जारी भएको दिन अधिकारको अवसर, सुरक्षा, सम्मान, समृद्धि र सुखद्तर्फको यात्रा भएकाले दिवस अठोट प्रतिबद्धता र सङ्कल्पको चाड भएको प्रधानमन्त्रीको भनाइ थियो।

‘यो संविधान विगतको सङ्घर्ष, इतिहास, बलिदानको उपलब्धिको सङ्ग्रह हो, वर्तमान यथार्थको प्रतिविम्ब हो र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूपमा हो, यसमा हाम्रा विगतका आँशु र पीडा, सङ्घर्ष र बलिदानका कथा छन्, वर्तमानका जटिलता अफ्ठेरा र आवश्यकता समेटिएको छ र भावी दिनका लागि कसरी अगाडि बढ्ने भन्ने राष्ट्रिय आकांक्षा र गन्तव्य समेटिएको छ,’ प्रधानमन्त्रीले भने।

संविधान दिवस मनाउनका लागि विभिन्न उपसमितिसमेत बनाइएको छ। बैठकमा गृहसचिव प्रेमकुमार राईले दिवसमा आयोजना हुने कार्यक्रमबारे प्रस्ताव पेश गरेका थिए।

प्रकाशित मिति: ११:५० बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्