‘डलर खाताको अनुमति दिनेबारे छलफल भइरहेको छ’
काठमाडाैं, मंसिर ७ : गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। मङ्गलबार राष्ट्र बैंकमा आयोजित...
काठमाडाैं, मंसिर ७ : गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन्।
'सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ,' मन्त्री शर्माले भने, 'उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्नेबारे हाम्रो छफलफल जारी छ।' एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदुपयोग गर्न सकिने उनले बताए।
विकसित देशमा क्रिप्टोकरेन्सीको कुरा भइरहे पनि हामीले सबैभन्दा पहिले पूर्णरूपमा डिजिटल कारोबारमा जानुपर्ने बताउँदै उनले डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक रहेकाे बताए। सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पूँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनजीर्वित गर्ने तथा बन्द उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिए। आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनीतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने उनले बताए।
मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चयकोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताए। उनले हुन्डी कारोबारलाई रोक्न सो व्यवस्था गर्ने बारे छलफल भइरहेको बताएका हुन्। 'विदेशमा रहेकाको सञ्चयकोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ,' मन्त्री शर्माले भने।












