बेहोस भेटिएका न्युरो सर्जनको मृत्यु
काठमाडौं, मंसिर ७ : बेहोस अवस्थामा फेला परेका काठमाडौंको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ। ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस...
काठमाडौं, मंसिर ७ : बेहोस अवस्थामा फेला परेका काठमाडौंको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ।
ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा. सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए।
महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ।
डा. लोहनी आफैंले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ। ‘ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ,’ एक प्रहरीले भने, ‘सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ।’ उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए।
सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र ३ बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ। उनमा एक हप्ताअघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही समयअघिदेखि नै डा. लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ। साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा. लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्थे।












