सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने– राजावादीहरु संविधानमाथि प्रहार गर्न खोज्दैछन्
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्न खोजिरहेको आरोप ल....
काठमाडौं, भदौ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्न खोजिरहेको आरोप लगाएका छन्।
मंगलबार साँझ बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय मुलुकमा भइरहेका गतिविधि संविधान र गणतन्त्रका लागि स्वस्थकर नभएको बताएका हुन्।
‘संविधान र गणतन्त्रको खिलापमा रहेका हिजोका राजावादी शक्तिहरु यो प्रक्रियालाई असफल बनाएर फेरि पुनःस्थापना हुन खोज्दैछन्,’ प्रधानमन्त्री ओलीले भने,‘ संविधानको मुल भावनाको खिलाखमा भइरहेका गतिविधिलाई सहन सकिँदैन।’
प्रधानमन्त्री ओलीले संघीय व्यवस्थालाई उल्टाएर राजतन्त्र पुर्नस्थापना गर्ने दिवास्वप्ना पूरा नहुने पनि बताए। ‘कसैले यो व्यवस्थालाई फेल गराएर राजतन्त्र फर्काउँछु भन्ने सोचेको छ भने त्यो दिवास्वप्नामात्रै हो,’ उनले भने,‘यो कुनै हालतमा अब सम्भव छैन।’
विप्लवको पार्टी राजनीतिक पार्टी होइन
प्रधानमन्त्री ओलीले हिंसामा लागेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा राजनीतिक पार्टी नभएको दाबी गरे। उनले विप्लव समूह राजनीतिक मुलधारमा आउने खालको पार्टी नभएको पनि बताए। ‘विप्लव समूह वार्ताका लागि इमान्दार छैन। र, सधैं हिंसात्मक गतिविधि सहन सकिँदैन,’ उनले भने।
सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतनत्र स्थापना र संविधान जारी गर्न एक ठाउँमा उभिएका राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको पनि बताएका थिए। आफूले सर्वदलीय बैठक राख्न नसक्दा केही विषयमा दूरी बढेको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले भने,‘अब छोटो छोटो समयमा यस्ता खालका बैठक आयोजना गर्नेछु। हामी सबै मिलेर अघि बढ्नुको विकल्प छैन।’
सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउन खोज्दा आफूमाथि आक्रमण भइरहेको बताएका थिए। प्रचण्डले बैठकमा भनेका थिए–हिजो शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने गिरिजाबाबु हुनुहुन्न। एउटा पक्षको तर्फबाट म छु। शान्ति प्रक्रियाका बाँकी काम अब सक्नु पर्छ।’
प्रचण्डले शान्ति प्रक्रियाका काम सक्न विभिन्न पहल ग¥यो भनेर आफूमाथि चौतर्फी आक्रमण गर्न थालिएको पनि बताए। ‘हामीले हिजो मिलेर बृहद शान्ति सम्झौता गरेर मुलुकलाई अघि बढायौं। गणतन्त्र स्थापना र संविधान जारी ग¥यौं। अब शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन हामी सबै राजनीतिक शक्तिहरु गम्भीर बन्नु पर्छ,’ प्रचण्डले भने।
बैठकमा कांग्रेसका नेताहरुले सत्तारुढ दल संविधान कार्यान्वयनमा जिम्मेवार बनेर अघि बढ्नु पर्ने बताएका थिए। बैठकमा कांग्रेसका नेताहरुले संविधानको पालना सरकार आफूले पहिला गरेर अरुलाई सिकाउनु पर्ने बताएका थिए। कांग्रेस सधै संघीय गणतन्त्रप्रति अविचलित रहेको बैठकमा बताएका थिए।
मानअधिकारको रक्षा र प्रेस स्वतन्त्रका पक्षमा दृढ भएर लाग्न कांग्रेसका नेताहरुले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए। कांग्रेसका नेताहरुले संविधानको प्रतिकुल हुने गरी ल्याइएका विधेयकहरु फिर्ता लिन पनि भनेका थिए।






