पुडासैनी आत्महत्या प्रकरणः रविलाई थप पाँच दिन थुनामा राख्न अनुमति
चितवन, भदौ ३ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई थप पाँच दिन थुनामा अदालतले अनुमति ....

चितवन, भदौ ३ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई थप पाँच दिन थुनामा अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराएको थियो।
लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ। शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
अनुसन्धानका अन्य पाटोहरु बाँकी रहेकाले थप अनुसन्धानका लागि प्रहरीको पत्रअनुसार सरकारी वकिलको कार्यालयले १० दिन म्याद थप माग गरेको थियो। तर, अदालतले भने पाँच दिनको म्याद थप गरिदिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार रुद्रमणि गिरीले बताए।
गत बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याइएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय सोमबार सकिएको थियो। पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले शव परीक्षण रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सिसीटिभी फुटेजलगायत अन्य रिर्पोट प्राप्त भइसकेको र अदालतबाट थप पाँच दिनको अनुमति प्राप्त भएकाले अनुसन्धानमा सहज हुने बताए।
परीक्षण रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको उनले बताए।











-1784808429.png)