जाजरकोटमा एक युवकको हत्या, आरोपित पाँचजना पक्राउ
जाजरकोट, मंसिर ७ : जाजरकोटमा एक युवकको हत्या भएको छ। हत्या भएका किशाेर भेरी नगरपालिका–३ स्याला निवासी १८ वर्षीय प्रकाशजंग शाह रहेको प्रहरीले जनाएको...
जाजरकोट, मंसिर ७ : जाजरकोटमा एक युवकको हत्या भएको छ। हत्या भएका किशाेर भेरी नगरपालिका–३ स्याला निवासी १८ वर्षीय प्रकाशजंग शाह रहेको प्रहरीले जनाएको छ। पश्चिम रुकुम आठबिसकोट बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको हत्या भएको हो ।
मंसिर ३ गते भेरी–१ रावतगाउँ तथा कोलचौरका केही युवाहरुसँग प्रकाश र उनकासाथीहरुको विवाद भएपछि मेलामै हात हालाहाल भएको जनाइएको छ।
दिउँसो मिलापत्र गरिए पनि बेलुका फेरि झगडा भएको र कुटपिटबाट प्रकाशको हत्या भएको थियो। उनका साथीहरुले भागेर ज्यान बचाएको बताइएको छ।
उनी घर नफर्केपछि खोजी गर्ने क्रममा तीन दिन पछि भेरी–१ स्थित भेरी नदीको खोचमा मृत फेला परेको प्रहरीको भनाइ छ। प्रकाशको टाउकोमा गहिरो चोट लागेको जनाइएको छ। उनी कक्षा ११ मा अध्ययनरत थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भेरी नगरपालिका–१ का सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ। भेरी–१ कालेगाउँका दिनेश केसी र कुशे–२ घर भई भेरी–१ बस्ने केशबहादुर बुढा पनि पक्राउ परेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।












