मास किलरको साझा विशेषता: महिलाविरूद्धको घृणा
अघिल्लो सप्ताहान्त डेटोन ओहायोमा ९ जनालाई गोली हानी हत्या गर्ने पुरूषले महिला सहपाठीमाथि आक्रोश पोखे। हिंसा प्रयोग गरेर उनीहरूलाई धम्की पनि दिए।
सन् २०....
अघिल्लो सप्ताहान्त डेटोन ओहायोमा ९ जनालाई गोली हानी हत्या गर्ने पुरूषले महिला सहपाठीमाथि आक्रोश पोखे। हिंसा प्रयोग गरेर उनीहरूलाई धम्की पनि दिए।
सन् २०१६ मा ओर्लान्डोको एउटा नाइक्लबमा ४९ जनाको हत्या गर्ने पुरूषले गर्भवती छँदा पिटेको पत्नीले अधिकारीलाई बयान दिएकी थिइन्।
सन् २०१७ मा सदरल्यान्ड स्प्रिङ्स टेक्सासको एउटा चर्चमा २६ जनाको हत्या गर्ने पुरूष घरेलु हिंसाका दोषी करार गरिएका थिए। लाश कसैले नभेट्ने ठाउँमा गाँड्न सक्ने धम्की दिएको पूर्व पत्नीले बताइन्।
“मास सुटिङ” वा गोली हानेर सामूहिक हत्या गर्ने पुरूषको कारण प्राय: अस्पष्ट जटिल वा अज्ञात हुन्छ। तर सबैको एउटा साझा विशेषता पनि छ। शक्तिशाली हतियारको पहुँचबाहेक महिलालाई गरिने घृणा, पत्नी, प्रेमिका र परिवारका महिला सदस्यलाई कुटपिट गर्ने वा अनलाइनमा पोस्ट गरिने “मिसोजिनिस्टिक” दृष्टिकोण सबैमा साझा भएको अनुसन्धाता बताउँछन्।
अघिल्लो साता भएको “मास सुटिङ” बाट अमेरिका बौरिरहेको छ। नयाँ कानून र चेकजाँचमा कडाइ गर्नेबारे देशमा बहस भइरहेको छ। बन्दुक नियन्त्रण गर्नुपर्छ भनेर पैरवी गर्ने केही मानिसले यस्ता आक्रमणको रोकथामका लागि “मिसोजिनी”को भूमिका विचार गर्नुपर्ने बताएका छन्।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसोमले यस्ता “मास सुटिङ” विशेषगरी पुरूषले नै गर्ने तथ्यलाई राष्ट्रिय बहसको विषय बनाउनुपर्ने बताए। यस्तो किन हुन्छ? यस्तो घटना सधैं किन पुरूषले नै घटाउँछन?
एल पासोमा २२ जनाको हत्या गर्ने बन्दुकधारीको सम्भावित कारण खुलेको छ। टेक्सासमा हिस्पेनिक आक्रमणको प्रतिक्रिया स्वरूप सो आक्रमण गरिएको उनले अनलाइन पोस्ट गरेका थिए। यद्यपि २४ वर्षीय कोन्नर बेट्सलाई आफ्नै बहिनीसहित अन्य ९ को हत्या गर्न उक्साउनले कारण निर्धारण गर्न अधिकारीहरू लागिपरेका छन्।
अनुसन्धाताहरू उनको “एन्टागोनिजम” को पृष्ठभूमि नजिकबाट नियालिरहेका छन्। उनले महिलाविरूद्ध दिएका धम्की र आक्रमणमा खेलेको भूमिकाबारे पनि अनुसन्धान गरिरहेका छन्। हत्यापछि बेट्सलाई चिन्नेहरूले उनलाई केही भिन्न र अनौठो बताए। केहिले उनी आक्रामक भएको र बन्दुकको मोह असाध्यै भएको बताए।
उनी महिला साथीप्रति आक्रामक थिए। हाइस्कूलमा आफ्नो लक्ष्यलाई दिने धम्की र उनीहरू विरूद्ध गर्ने यौन दुर्व्यवहारको सूची नै तयार गरेका थिए। तीमध्ये अधिकांश छात्रा भएको उनका सहपाठीले बताए। उनका धम्कीहरू यति भयङ्कर थिए कि, केही बालिकाहरूले आफ्नो व्यवहार नै परिवर्तन गरे। उनीहरू भन्थे : उसको अगाडि देखा नपर्नु। उसलाई नउक्साउनु पनि।
“हामी सबै ऊभन्दा टाढा थियौं। मानौं हामीलाई ऊदेखि लाज लागेको होस्,” २४ वर्षीया शेल्बी एम्मर्ट भनिन्, “आमा म संलग्न नहोस् भन्ने चाहन्थिन्। कोन्नर बेट्सबाट टाढै बस्न भन्थिन्।” मम्स डिमान्ड एक्सन फर गन सेन्स इन अमेरिकाकी संस्थापक श्यानोन वाट्सले सन् २००९ देखि २०१७ सम्म भएका आधाभन्दा धेरै “मास सुटिङ”मा कि त “इन्टिमेट पार्टनर वा परिवारका सदस्य नै पीडित भएको” तथ्याङ्क उद्धृत गरेकी थिइन्।
“मास सुटिङ घरेलु हिंसासँग जोडिएको छ,” वाट्सले भनिन्,“अधिकांश हत्यारा घरेलु वा पारिवारिक हिंसाको पृष्ठभूमिका छन्।”
संघीय कानूनले निश्चित प्रकारका घरेलु हिंसा र दुर्व्यवहारको घटनाका केही दोषीलाई बन्दुक किन्ने वा साथमा राख्न निषेध गरेको छ। तर त्यहाँ धेरै “लुपहोल्स” छन्। विवाह नगरेका तर प्रेम सम्बन्धमा रहेका र प्रेमीसँग नबस्ने वा प्रेमीबाट सन्तान नभएका महिला कुनै सुरक्षा पाउँदैनन्। दुर्व्यवहार गर्नेहरूबाट बन्दुक खोस्ने कुनै संयन्त्र पनि छैन। केही राज्यले मात्रै त्यस्तो प्रक्रिया कार्यान्वयन गरेका छन्।
उदाहरणका लागि “रेड फ्ल्याग” कानून अन्तर्गत न्यायाधीशले कुनै व्यक्तिले गरेको घरेलु दुर्व्यवहार सम्बन्धी पृष्ठभूमिबारे विचार गर्नसक्छ। यस्तो कानूनले विशेष प्रकारको सुरक्षा निर्देशन दिनसक्छ। जसअन्तर्गत प्रहरीले अस्थायी रूपमा खतरनाक मानिसहरूबाट बन्दुक खोस्नसक्छ।
अमेरिकामा “गन लब्बी” गर्ने सबैभन्दा ठूलो संस्था नेसनल राइफल एसोसिएसनले दुर्व्यवहारका आरोपीको बन्दुक राख्न पाउने अधिकार खोस्ने परिस्थितिलाई विस्तार गर्ने प्रयासको विरोध गरेको छ। यसो गर्नाले मानिसहरूलाई प्रक्रियाबाट अलग राख्ने र गैर हिंसात्मक व्यवहारका लागि मानिसलाई सजाय दिने एसोसिएसनको तर्क छ।
जिफोर्ड्स ल सेन्टर टु प्रिभेन्ट गन भायोलेन्सका सिनियर काउन्सल एलाइसन एन्डरम्यानले दुर्व्यवहारका दोषीबाट बन्दुक खोस्न सहजीकरण गरे पीडितको जीवन बचाउने महत्वपूर्ण पाइला हुने बताएकी छिन्। घरेलु दुर्व्यवहार र मास सुटिङको अन्तर्सम्बन्धबीच यी कानूनले नरसंहार रोक्न सहयोग गर्ने उनले बताइन्।
अमेरिकामा घरेलु हिंसा र मास सुटिङको महामारी अन्तरसम्बन्धित हुन्छ। एक बन्दुकधारीले आमा र पत्नीको हत्या गरेपछि सन् १९६६ मा युनिभर्सिटी अफ टेक्सास टावरको नरसंहार सुरू भयो। यसलाई मास सुटिङको आधुनिक युगको सुरूवात भन्ने गरिन्छ।
नोभेम्बर ५, २०१७ मा सदरल्यान्ड स्प्रिङ्समा आइतबारको दिन सेवामा भेला भएका भक्तालुलाई डेभिन पी. केल्लीले गोली हाने।उनलाई पहिले नै घरेलु हिंसाको घटनामा एयर फोर्सका जर्णेलले कोर्ट मार्शल गरेका थिए। उनले पटक-पटक गरी पत्नीलाई कुटपिट गरेका थिए र झड्केलो छोराको टाउको फुटाएका थिए।
दोषी करार गरिएपछि उनले बन्दुक राख्न वा खरिद गर्न पाउनुहुँदैन थियो तर एयर फोर्सले फेडेरल डाटाबेसमा समावेश नगरेकाले त्यसो हुन सकेन। चर्च आक्रमणमा केल्लीले दोस्रो पत्नीका परिवारलाई लक्ष्य बनाएको बुझिन्थ्यो।
सन् १९९१ मा एउटा हत्याकाण्ड भयो। एउटा क्याफे प्रवेश गरेर एक पुरूषले २२ जनालाई गोली हाने। यो नै आधुनिक अमेरिकी इतिहासको सबैभन्दा निकृष्ट हत्याकाण्ड थियो। हत्याराले केही समयअघि छिमेकीलाई पत्र लेखेका थिए। पत्रमा त्यस क्षेत्रका महिलालाई “साँप” भनेका थिए। प्रत्यक्षदर्शीका अनुसार क्याफेमा रहेका पुरूष छोडेर महिलालाई “प्वोइन्ट ब्ल्याङ्क रेञ्ज”बाट गोली हानेका थिए।
“मानिसहरूलाई थाहा नभएका वा अहिले चाल नपाएका वा उनीहरूले नसोचेको केही घटनामा यस्तो आक्रोश र स्त्रीद्वेषको सूत्र प्रष्ट देखिन्छ,” वोर्चेस्टर स्टेट युनिभर्सिटीका आपराधिक न्यायका प्राध्यापक जेम्स एम. सिल्भरले भने। गोली हानेर सामूहिक हत्या गर्नुको कारणबारे एफ.बि.आइसँग उनले सहकार्य गरेका छन्।
पछिल्ला वर्षहरूमा यसता पुरूषलाई “इन्भोल्युन्टरी सेलिबेट्स” वा छोटकरीमा ”इन्सेल्स” भन्ने गरिएको छ। यो एउटा अनलाइन उपसंस्कृति हो जहाँ पुरूषहरू यौन सम्पर्क राख्न नमान्ने महिलाप्रति आक्रोश पोख्छन्। उनीहरू अनलाइन समूहमा हिंसा र “मास सुटिङ” को स्तुतिगान गर्छन्।
यस्ता वेबसाइटमा एलियट ओ. रोजरका लागि विशेष स्थान दिइन्छ। उनले सन् २०१४ मा ६ जनाको हत्या गरे। एक दिनअघि उनले “एलियट रोजर्स रेट्रिब्युसन” शीर्षकमा एउटा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा यौन अभावले यातना दिएको र आफूलाई अस्वीकार गरेकाले महिलालाई सजाय दिने कसम खाएका छन्। थुप्रै “मास किलर”ले रोजरलाई प्रेरणाको रूपमा उद्धृत गरेका छन्।
सन् २०१८ मा सडकको पेटीमा गाडी चढाएर दश जनाको हत्या गर्ने एलेक मिनास्सियनले आक्रमण गर्नु केही मिनेट अघिमात्रै फेसबुकमा रोजरको प्रशंसा गर्दै एउटा भिडियो पोस्ट गरेका थिए। “इन्सेल विद्रो सुरू भयो। सुप्रिम जेन्टलम्यान एलियट रोजरको जय।” भन्दै उनले लेखेका थिए।
यसतै प्रवृत्तिले “व्हाइट सुप्रिमेसिस्ट”लाई कट्टरपन्थी बनाएको विशेषज्ञहरू बताउँछन्। अन्य आतकंवादीले पनि यसलाई स्त्रीद्वेषीमा लागू गरेर सामूहिक हिंसा भड्काउने गरेको उनीहरू बताउँछन्। एक्लो र समस्यामा परेको व्यक्तिले उस्तै सोच भएको समुदाय अनलाइन भेट्छ र रिस/आवेग/आक्रोश पोख्ने एउटा स्थान पनि पाउँछ।
“उनीहरू रिसाएका छन्। आत्महत्या गर्ने स्वभावका छन्। उनीहरूको बाल्यकाल अभिघातपूर्ण छ। जीवन एकदमै कठिन थियो। उनीहरू यस्तो विन्दुमा पुग्छन् जहाँ केही वा कसैलाई दोष लगाउन पाउँछन्,” जिलियन पिटरसनले भने। उनी मनोविद् हुन् र भायोलेन्स प्रोजेक्टका संस्थापक पनि हुन्। संस्थाले “मास सुटिङ”को अध्ययन गर्दछ। केहीले महिलालाई लक्ष्य बनाउँछन् र यस्तो बढ्दै गएको हामीले देखिरहेका छौं।
डेभिड फ्युट्रेलीले वर्षौं लगाएर “इनसेल” वेबसाइट र अन्य स्त्रीद्वेषी अनलाइन उपसंस्कृतिको अध्ययन गरेका छन्। “वि हन्टेड द म्यामोथ” नामक ब्लगमा ती वेबसाइट निराशाको“ प्रतिध्वनी “चेम्बर” जस्तै भएको उनले बताएका छन्। त्यहाँ कसैले केही आशालाग्दो कुरा मात्रै गरे पनि एकैछिनमा बहिष्कृत हुनुपर्छ।
“एकदमै रिसाएका र मनमा तितोपन बोकेका पुरूष भेटिन्छन्। उनीहरू असहाय अनुभव गर्छन्। केही आत्महत्या गर्ने जोखिममा छन्। यसले भविष्यमा अझ धेरै गोली हान्ने व्यक्ति उत्पादन गर्दछ,” फ्युट्रेलीले भने।
“मास सुटिङ”ले मानसिक स्वास्थ्यप्रति ध्यान र सावधानी सिर्जना गरेको छ। तर मानसिक रोगकै कारण यस्ता हत्याकाण्ड हुने गरेको सामान्य तर्कले स्त्रीद्वेष र “मास सुटिङ” को सम्बन्ध व्याख्या गर्न नसक्ने मनोविद्हरू बताउँछन्। स्त्रीद्वेष वा अन्य प्रकारका घृणा पहिचान गर्न सकिने मानसिक रोग होइन।
युनिभर्सिटी अफ क्यालिफोर्नियाको सामुदायिक मनोविज्ञानका उपाध्यक्ष एमी बार्नहोर्स्टले “मास सुटिङ”को अध्ययन गरेका छन्। धेरैजसो दोषीहरू “अधिकारबाट बञ्चित पारिएको, अरूलाई इर्ष्या गर्ने र उनीहरू योग्य भएको कुरा संसारले नदिएको अनुभव गर्ने र अरूले ती सबै पाएकोले रिसाएको” उनले बताए।