Kathmandu Press

सिन्दूर चढाएसँगै सकियो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा

काठमाडौं, मसिर ६ श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज अमालकोट कचहरीका द्वारेले सिन्दुर चढाएपछि सम्पन्न भएको छ। ...
सिन्दूर चढाएसँगै सकियो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
Hardik ivf

काठमाडौं, मसिर ६ : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा मार्ग शीर्ष कृष्ण तृतीयाका दिन आज अमालकोट कचहरीका द्वारेले सिन्दुर चढाएपछि सम्पन्न भएको छ।
   
कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा आज श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि सकिएको हो। जात्रा करिब साढे ३०० वर्ष पुरानो भएको विश्वास गरिन्छ। नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुुरुआत गराएको स्थानीयवासीको भनाइ छ। 
    
जात्रा सफलतापूर्वक समापन भएको खुसियालीमा आज दिनभर चाबहिल क्षेत्रमा सिन्दुर जात्रा गरिन्छ। जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन गत शुक्रबारदेखि चाबहिल क्षेत्रमा सुरु भएको थियो। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ।  
  
जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो। चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो। चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ। यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ।
 
पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो। पूर्णिमाका दिन बेलुकी शुक्रबार मन्दिर परिसरमा धुनी जगाइयो। धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ।
   
यसैगरी मार्गशीर्ष कृष्ण प्रतिपदाका दिन श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गँगाहिटीमा लगेर स्नान गराउने विधि छ। स्नानपछि दुवै खटलाई शनिबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो। 
 
मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् आइतबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइयो। दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए। यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वका साथ मनाइन्छ।
 
गत वर्ष कोरोना महामारीको सङ्क्रमण तीव्र रहेकाले जात्राको विधिमात्र पूरा गरिएको थियो। गुठियारलाई भौतिकरुपमा जात्रा गर्न दिइएको थिएन। यस वर्ष भने जोखिम कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा सम्पन्न गरिएको जनाइएको छ।

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, मंसिर ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्