झापाको कन्काई प्लाई उद्योगमा आगलागी, ५ करोडको क्षति

झापा, मंसिर ६ : बिर्तामोड नगरपालिका–२ मा रहेको कन्काई प्लाई उद्योगमा आगलागी हुँदा करिब रु पाँच करोडको क्षति भएको छ।
आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए।
विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो।
आगलागीको कारण र यकिन क्षतिबारे अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताए।
प्रकाशित मिति: १४:५९ बजे, सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












