भारतले ईपीजीको प्रतिवेदन बुझ्नेमा ढुक्क छौंः डा. भट्टराई
काठमाडौं, भदौ ३ : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतल....

काठमाडौं, भदौ ३ : प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्नेमा आफू ढुक्क गरेको बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईपीजीको प्रतिवेदन बुझ्नेमा आफू ढुक्क रहेको बताएका हुन्।
उनले भने,‘दुवै देशका प्रधानमन्त्रीले यो प्रतिवेदनलाई गम्भिर रुपमा लिनुभएको छ। यसमा फरक मत छैन। त्यसैले प्रतिवेदन बुझ्दैनन् कि भनेर आशंका नगरौं।’
‘हामीले २ वर्ष लगाएर राम्रो प्रतिवेदन तयार पारेका छौं’ उनले भने,‘भारतबाट यो प्रतिवेदन बुझ्ने काम हुनेछ भन्ने हाम्रो विश्वास छ।’ उनका अनुसार प्राविधिक कारणले गर्दा भारतीय पक्षले प्रतिवेदन बुझ्नमा ढिलाइ गरेको हुन सक्ने बताए।
तर, प्रतिवेदन नै बुझ्दैनौं भनेर भारतीय पक्षले अहिलेसम्म नभनेको उनको दाबी छ।
भारतको कश्मीरबारे नेपालले किन आफ्नो धारणा सार्वजनिक नगरेको? भनेर बाहिर चर्चा भएको छ नि भनेर सोधिएको प्रश्नमा उनले हरेक घटनामा हरेक देशले टिप्पणी गर्नुपर्छ भन्ने नभएको स्पष्ट पारे।
उनले नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने बताए।
उनले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकाले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाए। उनले भने,‘हाम्रो दुई देशबीच अहिले सुमधुर सम्बन्ध छ, नेताहरुबीच पनि विश्वासको वातावरण बनेको छ। अहिले सघन कुराहरु हुन थालेका छन्। समग्रमा अहिले दुई देशबीच राम्रो आधार बनेको छ।’
फरक प्रसंगमा डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिए।
उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदै हुनुहुन्छ। औषधिको मात्रा मिलाउनुपर्ने भएकाले जान लाग्नुभएको हो।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे।











-1784808429.png)