Kathmandu Press

सडक विस्तार गर्दा साइकल लेन बनाइयोस् : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं, भदौ ३ः नेकपा सांसद् कृष्णगोपाल श्रेष्ठले काठमाडौं उपत्यका र राजधानीबाहिरका नयाँ शहरहरूमा सडक निर्माण गर्दा साइकल लेनको व्यवस्था गर्न माग गरे....

सडक विस्तार गर्दा साइकल लेन बनाइयोस् : कृष्णगोपाल श्रेष्ठ
काठमाडाैंप्रेस

काठमाडौं, भदौ ३ः नेकपा सांसद् कृष्णगोपाल श्रेष्ठले काठमाडौं उपत्यका र राजधानीबाहिरका नयाँ शहरहरूमा सडक निर्माण गर्दा साइकल लेनको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले साइकल यात्री असुरक्षित हुन नहुने बताए । 

‘साइकलले वातावरणलाई शुद्ध राख्छ तर काठमाडौंका सडकमा साइकल लेन छैन । लेन नहुँदा साइकल चालक असुरक्षित भएका छन्’, श्रेष्ठले भने, ‘गाडी चढ्नेको त परै जाओस्, काठमाडौंमा साइकल चढ्ने नागरिकले दुःख पाइरहेका छन् ।

काठमाडौंमा आउने देशी–विदेशी पाहुनाले राजधानीका सडक हेरेर नेपालबारे धारणा बनाउने बताउँदै उनले काठमाडौंका सडक विस्तारबाट सन्तोष मान्नसक्ने अवस्था नरहेका पनि बताए । उनले भने, ‘राजधानीका सडक देशको इज्जत हो । अहिले पनि होटल सोल्टीमा अन्तर्राष्ट्रिय स्तरको एउटा सम्मेलन भइरहेको छ । अहिले काठमाडौंका सडक केही सुधारहरू भइरहेका छन् तैपनि सन्तोष गर्नसक्ने स्थिति छैन ।’

श्रेष्ठले डेढ महिनापछि आउने दशैंमा राजधानीबाट बाहिर जाने यात्रुको चाप बढ्ने उल्लेख गर्दै भने, ‘काठमाडौंबाट बाहिर जाने मूल नाका कलंकी हुँदै थानकोट जाने बाटो हो । अब दशैं आउँदै छ । त्यही बाटो भएर आतेजाते गर्नुपर्छ । सडक विस्तार त भयो, राहत र क्षतिपूर्तिका केही काम बाँकी नै छन् । केही बाटो अझै सुधार हुन सकेको छैन । सीतापाइला–रामकोट–भीमढुंगा हुँदै जाने अर्को महत्वपूर्ण बाटो हो । त्योबाटो सुधार भइरहेको छैन ।’ उनले चावहिल–बौद्ध–जोरपाटी बाटोले हामीलाई जिस्काइरहेको बताए ।

‘अहिले काठमाडौंमा  खालको सडक विस्तार भइरहेको छ, देशमा अन्य नगरोन्मुख शहरहरूमा पनि सडक विस्तारको धमाधम छ’, उनले भने, ‘नेपाल साइकल सोसाइटीसँग सहकार्य गरेर ती सडकमा साइकल लेनको व्यवस्था गर्ने योजना बनाइयोस् ।’

काठमाडौं–९ का सांसद् श्रेष्ठले काठमाडौंको कीतिपुरस्थित ल्यावरोटरी स्कुलअगाडि केयुकेलको असावधानीका कारण एक जना साइकलयात्री श्यामसुन्दर श्रेष्ठको ०७५ कात्तिक १० गते खाल्डोमा परेर ठाउँका ठाउँ मृत्यु भएको पनि उनले बताए । श्यामसुन्दरको मृत्युभएको भोलिपल्ट खाल्डो पुरिएको बताउँदै उनले भने, ‘एक दिनअघि त्यो खाल्डो पुरिएको भए उनको ज्यान त जाँदैनथ्यो ।’

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, भदौ ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्