कास्कीबाट गौतमलाई उपचुनाव लडाउन नेकपा तयार
काठमाडौं, भदौ ३ः नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम कास्की–२ बाट उपचुनाव लड्ने संभावना प्रवल हुँदै गएको छ । गौतम स्वयम् तयार भइनसकेकाे भए पनि ने....
काठमाडौं, भदौ ३ः नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम कास्की–२ बाट उपचुनाव लड्ने संभावना प्रवल हुँदै गएको छ । गौतम स्वयम् तयार भइनसकेकाे भए पनि नेकपाको शीर्ष नेतृत्व भने उक्त क्षेत्रबाट आगामी मंसीर १४ गते हुने निर्वाचन लडाउने मनस्थितिमा पुगेको हो ।
गौतमले भने उक्त क्षेत्रबाट आफू चुनाव नलड्ने पटक–पटक दोहोर्याइसकेका छन् । गत साता मात्रै पनि उनले विज्ञप्ति नै जारी गरी आफू कास्कीमा चुनाव नलड्ने बताइसकेका छन् ।
नेकपा सचिवालयको साउन ३१ को बैठकमा गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष बनाउने प्रस्तावसँगै गौतमलाई कास्कीबाट चुनाव लड्न समेत प्रस्ताव गरेका थिए । यद्यपि, गौतमले त्यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
त्यसअघि गौतमले बहुदलीय जनवादका पक्षमा आफू रहेको देखिने गरी पत्रपत्रिकामा लेख लेखेपछि उनलाई भेटेर ईश्वर पोखरेलले अङ्कमाल गर्दै बधाइ दिएका थिए । महासचिव विष्णु पौडेलसमेत रहेको उक्त भेटमा नै पोखरेलले ‘तपाईं हाम्रो नेता हो, तपाईं कास्कीबाट चुनाव जितेर आउनुपर्छ’ भन्दै प्रस्ताव गरेको नेकपाका एक सचिवालय सदस्यले बताए ।
पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई साविक एमालेबाट आफ्नो ‘सक्सेसर’ का रुपमा अघि बढाउन चाहेका छन् । ‘फरकमत’ पछि गौतमको सबैभन्दा चर्को आलोचक देखिएका रक्षामन्त्री पोखरेल अहिले गौतमलाई नेता बनाउन लागिपरेका छन् । सिंगो सचिवालय एकजुट भएर गौतमलाई कास्कीबाट लडाउन चाहेमा गौतम तयार हुने नेकपाका ती नेताको विश्वास छ । स्रोतले भन्यो, ‘नेता पोखरेलले तपाईंजत्तिको नेता डोल्पा र काठमाडौंजस्ता ठाउँमा खाली गराएर चुनाव लड्ने हैन, रिक्त ठाउँ कास्कीबाट लड्नुपर्छ ।' जिताउने जिम्मा पार्टीको हो भन्दै गौतमलाई प्रस्ताव गरेका थिए ।
स्थानीय चुनावमा ३० हजार मतले कांग्रेसभन्दा अगाडि रहेको क्षेत्र गृहजिल्ला बर्दियाबाटै पराजित गौतम आफूलाई पार्टीबाटै हराइएकोमा विश्वस्त छन् । त्यसैले गौतम पोखराबाट चुनाव लड्न त्यत्ति उत्साहित छैनन् । उनी दिवंगत नेता रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई चुनाव लडाउने पक्षमा छन् ।
तीनपटक उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका गौतमको इच्छा एकपटक प्रधानमन्त्री भइछाड्ने हो । त्यसैले उनी प्रतिनिधिसभा सदस्य हुन चाहन्छन् । गौतमले पञ्चायतकालमा पोखरा बसेर पार्टीको काम गरिसकेका छन् । रविन्द्र अधिकारीको पनि गौतमसँग विशेष सम्बन्ध थियो ।






