Kathmandu Press

प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौं, मंसिर ५ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ। महासभा...
प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौं, मंसिर ५ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ। महासभा यही मङ्सिर ७ देखि ९ गतेसम्म चल्नेछ।

इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक थापासँगै महासभामा भाग लिन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सिवन प्रधान पनि त्यसतर्फ प्रस्थान गरेका छन्।

Hardik ivf

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

इन्टरपोल सदस्य रहेको १९४ राष्ट्रका नेसनल सेन्ट्रल ब्यूरो प्रमुख तथा प्रतिनिधि सहभागी हुने उक्त महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेससँगै इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन र नयाँ सदस्यताका लागि आवेदनसमेत हुनेछ। 

सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा महासभामा विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने जनाइएको छ। यस वर्ष महासभामा इन्टरपोल सदस्यताका लागि माइक्रोनेसियाले आवेदन गरेको छ। 

महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, प्रहरीकार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतङ्कवाद, मानव बेचबिखनजस्ता अपराध नियन्त्रणलगायत विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक काम काजको जिम्मेवारी सम्हाल्नेछन्।

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, मंसिर ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्