प्रचण्ड र नेपालले भने, ‘भारतको अवरोधले तराईमा डुबान’
जनकपुर, भदौ ३ : भारतले नदीहरूको प्राकृतिक वहावमा अवरोध गर्दा तराईमा डुबानको समस्या भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ ने....

जनकपुर, भदौ ३ : भारतले नदीहरूको प्राकृतिक वहावमा अवरोध गर्दा तराईमा डुबानको समस्या भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आरोप लगाएका छन्।
आज जनकपुरमा आयोजित विपद्सम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेताद्वयले भारतका कारण तराईमा डुबानको समस्या निम्तिएको बताएका हुन्। कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले यसका लािग भारतसँग दरो किसिमले संवाद गर्नु पर्ने बताए।
बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेको उनको भनाइ थियो। ‘विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने।
उनले प्रदेश २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। ‘सिङ्गै नेपालको समृद्धि प्रदेश २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी छ,’ उनले भने।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पु¥याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएको बताए।
विपद्को स्थायी समाधानको उपाय पहिल्याइ प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उनले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिए।
प्रदेश २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ मा हरेक वर्षायाममा विपद् आइपर्ने भएकाले यसको स्थायी समाधानमा सङ्घीय सरकारको सहयोग अपरिहार्य भइसकेको बताए।
उनले सङ्घीय सरकारले चुरे क्षेत्रमा राजमार्ग निर्माण र बस्ती बसाउने योजना अघि सार्ने चर्चाले प्रदेशमा मरुभूमिकरणको समस्या निम्त्याउने भएकाले विनाश हुने कार्य तुरुन्त रोकिनु पर्ने बताए।











-1784808429.png)