रविले सरकारी वकिलसँग भने, ‘शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो हेरेको छैन’
चितवन, भदौ ३ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेसँग बयान लिन थालिएको छ। हिजो समय नपुगेपछि जिल्ला सरकारी....

चितवन, भदौ ३ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेसँग बयान लिन थालिएको छ। हिजो समय नपुगेपछि जिल्ला सरकारी वकिलको कार्यालयले आज पनि बयान लिने भएको छ।
हिजो चितवन जिल्ला सरकारी वकिल कार्यालयसँगको बयानमा रविले पत्रकार शालिकरामको आत्महत्या प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। उनले शालिकरामको आत्महत्यासम्बन्धी भिडियो पनि नहेरेको बताएका छन्।
प्रहरी स्रोतका अनुसार, सरकारी वकिलको कार्यालयले आत्महत्या गर्नु अघि शालिकराम खिचेको भिडियोका बारेमा रविलाई प्रश्न गरेका थिए।
प्रहरी स्रोतका अनुसार रविले बयानमा भनेका छन, ‘मैले अहिलेसम्म त्यो भिडियो हेरेको छैन। भिडियो आएको साथीहरूबाट सुनेको छु। त्यसमा मलाई गाली गरिएकाे छ भन्ने सुनेकाे छु।’
सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्की र हिजो युवराज कँडेलसँग बयान लिएको थियो। अपराह्न ३ बजेसम्म युवराजकै बयानमा लागेको थियो।
त्यसपछि रविको बयान सुरू भएको थियो। अपराह्न ३ देखि साँझ ६ बजेसम्म रविको बयान लिइएको सरकारी वकिलको कार्यालयले जनाएको छ।
त्यसपछि बयान रोकिएको थियो। आज पुनः रविको बयान लिइने जनाएको छ।
शालिकरामको रवि, युवराज र अस्मिता कारण आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि तीनै जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
रविका समर्थकले उनी पक्राउ परेको दिनदेखिनै विरोध प्रदर्शन गरिरहेका छन्। चितवनमा विरोध प्रदर्शन जारी रहेको छ। भरतपुरका केही स्थानमा भने निषेधाज्ञा जारी गरिएको छ। तथापी, रविका समर्थकले प्रदर्शन गर्न छोडेका छैनन्।











-1784808429.png)