सुन जस्तो देखिने पहेलो पदार्थसहित पक्राउ
काठमाडौं, मंसिर ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट करिब २...
काठमाडौं, मंसिर ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने बस्तुसहित दुई जना पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट करिब २ हजार १ सय ७० ग्रामको पहेलो रंगको अर्धठोस पदार्थसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिरहा मिर्चैया नगरपालिका १२ का २६ वर्षीय सरोज सहनी र दाङ दंगिशरण गाउँपालिका ६ का ३० वर्षीय सिताराम चौधरी रहेका छन्। नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्दा भित्रीबस्त्रको अगाडिको भागमा फल्स बटम बनाई भन्सार छली गरी लुकाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो। सरोजको साथबाट करिब १ हजार ८५ ग्राम र सितारामको साथबाट करिब १ हजार ८५ ग्राम पदार्थ फेला परेको हो। उनीहरुलाई बरामद अर्धठोस सुनसहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अबैध रुपमा संकलन गरी लैजान लागेको १ सय ५० ग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको बाला ३ थानसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुर बेलौरी नगरपालिका ३ का ३७ वर्षीय धर्म बहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका १० का ४१ वर्षीय हरि प्रसाद गिरी रहेका छन्। उनीहरूमध्ये धर्मको साथबाट १ सय ग्रामको २ थाना बाला र हरिप्रसादको साथबाट ५० ग्रामको १ थान बाला बरामद भएको हो। मलेसियाबाट काठमाडौं आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उनीहरूले उक्त धातुको बालाहरु संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई बरामद बालासहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।




-1783061799.jpg)






-1783061799.jpg)
