Kathmandu Press

मदिरामा लट्ठिएर महिलाको हत्या

तनहुँ, मंसिर ४ : तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ। गोरखा पालुङटार नगरपालिका–७ सतीघाट घर भई सिसाघाटमा...
मदिरामा लट्ठिएर महिलाको हत्या

तनहुँ, मंसिर ४ : तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ। गोरखा पालुङटार नगरपालिका–७ सतीघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन्।

गत कात्तिक ३० गते राति ११ः३० बजे प्रतिवादीले ती वृद्धालाई ढुङ्गाले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। चौतारा नजिक सार्वजनिक ठाटीमा बसोबास गर्दै आएकी वृद्धालाई प्रतिवादीले मादक पदार्थ सेवन गरी ढुङ्गाले टाउकामा हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तिमिल्सिनाले बताए।

Hardik ivf

प्रहरीका अनुसार घटनाका बारेमा प्रहरीलाई मङ्सिर १ गते खबर आएको र अनुसन्धानको करिब २० घण्टामा प्रतिवादीलाई पक्राउ गरिएको छ। ‘टाउकामा ढुङ्गाले हानेर कर्तव्य गरी प्रतिवादी राति नै घर गएको अनुसन्धानबाट खुलेको छ, उनले दुई गिलास मादक पदार्थ सेवन गरेको देखिएको छ,’ तिमिल्सिनाले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ घटनाको अनुसन्धानका लागि प्रहरीले पोखराबाट तालिमप्राप्त कुकुरसमेत ल्याएको थियो ।

कात्तिक ३० गते कामको सिलसिलामा छिमेकी यामबहादुर तामाङको घरमा दिनभर परालको दाइँ हाल्ने काम गरी राति ८ः३० बजेतिर खाना खाएर दुरा सेवा समाजको भवनमा नाचगान कार्यक्रम भएकाले सोही स्थानतर्फ जाँदै गर्दा बाटोमा विक्रम दुरालाई भेटी निजको मोटरसाइकलमा चढी सँगै गएको र विक्रमले चिया खाएको तर निज महेन्द्रले दुई गिलास घरेलु मदिरा खाएको अनुसन्धानबाट खुलेको छ। 

‘महेन्द्रले उच्शृङ्खल व्यवहार गरेपछि विक्रमले घरमा फर्किने कुरा गर्दा निजले जान नमानेको तर पछि विक्रमको मोटरसाइकलमा चढी सँगै घर फर्किएका रहेछन्,’ तिमिल्सिनाले भने, ‘घर नजिक पुग्ने समयमा निज प्रतिवादीले आफू हिँडेर घर जाने कुरा गरेकाले विक्रमले निजलाई मोटरसाइकलबाट उतारिदिएका थिए।’ 

प्रहरीका अनुसार त्यसक्रममा महेन्द्र घरतर्फ नगई घर नजिकै रहेको चौतारा नजिक वृद्ध महिला भएको ठाउँमा गई हातको पाखुरामा समात्दा ती वृद्धा चिच्चाएकी थिइन्। वृद्धाले चिच्याएपछि प्रतिवादी निजलाई धकेलेर लडाइ नजिकै रहेको ढुङ्गाले टाउकामा हानेर भागेका थिए। 

प्रहरीले घटनास्थबाट क्याप बरामद गरेकामा निज क्याप महेन्द्रको रहेको खुलेको जनाइएको छ। ‘प्रहरीले निजलाई सोधपुछ गर्दा उक्त क्याप आफ्नो भएकोलगायत उल्लेख गरी प्रतिवादीले सनाखत गरेका छन्,’ प्रनाउ तिमिल्सिनाले भने, ‘निजले ढुङ्गाले हानी कर्तव्य गरी मारेको भनी स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको छ।’

मादक पदार्थ सेवन गरी उत्तेजनामा आएर महिलाको हत्या भएको हुनसक्ने जनाउँदै तिमिल्सिनाले भने, ‘जबर्जस्ती करणीको प्रयासबारेमा अहिल्यै भन्न सकिँदैन, थप अनुसन्धान गर्दैछौँ।’ प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका महेन्द्रलाई शुक्रबार सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: १८:१९ बजे, शनिबार, मंसिर ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्