आइसल्यान्डमा ग्लेसियरको सम्झनामा स्मारिका
जलवायु परिवर्तनका कारण आइसल्यान्डले गुमाएको पहिलो ग्लेसियर ओक्योकुलको स्मरणमा आइतबार एउटा कार्यक्रम आयोजना गरिएको छ। वैज्ञानिकहरूले सबआर्कटिक टापुका चार सय अन्य ग्लेसि....
जलवायु परिवर्तनका कारण आइसल्यान्डले गुमाएको पहिलो ग्लेसियर ओक्योकुलको स्मरणमा आइतबार एउटा कार्यक्रम आयोजना गरिएको छ। वैज्ञानिकहरूले सबआर्कटिक टापुका चार सय अन्य ग्लेसियर पनि उस्तै जोखिममा रहेको चेतावनी दिएका छन्।
पश्चिम आइसल्यान्डमा भएको उक्त कार्यक्रममा पहिले ग्लेसियर भएको स्थानमा रहेको एउटा ढुङ्गामा काँसको शिलालेख राखिएको छ। कार्यक्रममा स्थानीय अनुसन्धाता र अमेरिकास्थित राइस युनिभर्सिटीका सहकर्मी उपस्थित थिए। उनीहरूले नै कार्यक्रमको पहल गरेका हुन्। यो वर्ष विश्व इतिहासकै सबैभन्दा गर्मी जुलाई रह्यो।
आइसल्यान्डका प्रधानमन्त्री कात्रिन याकोब्स्तोतिर र संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्त मेरो रोबिन्सन पनि कार्यक्रममा उपस्थित थिए। सयौं वैज्ञानिक, पत्रकार र सर्वसाधारण कार्यक्रम स्थलसम्म ट्रेकिङ गर्दै पुगे।
“यो समारोह आइसल्यान्ड मात्रै नभएर सारा विश्वका लागि प्रेरक बन्ने मैले आशा लिएकी छु किनभने हामीले यहाँ जलवायु सङ्कटको एउटा पाटोमात्रै देखिरहेका छौं,” याकोब्स्तोतिरले बताइन्।
ढुङ्गामा स्थापना गरिएको काँसको उक्त शिलालेखमा “भविष्यका लागि पत्र” लेखिएको छ। ग्लेसियर पग्लिनु र जलवायु परिवर्तनको प्रभावबारे त्यसले सचेतना बढाउने अपेक्षा गरिएको छ।
“आउने दुई सय वर्षमा हाम्रा सबै ग्लेसियर यसरी नै पग्लिएर जानेछन्। यो स्मारिका भइरहेका घटना र गर्नुपर्ने कामबारे हामी सचेत रहेको स्वीकारोक्ति हो। हामीले त्यसो गरे नगरेको तपाईंले मात्रै थाहा पाउनुहुनेछ,” स्मारिकामा लेखिएको छ।
पछिल्लो मे महिनामा वायुमण्डलमा मापन गरिएको कार्बन डाइअक्साइडको उच्चतम तह उद्धृत गर्दैं यसलाई “४१५ पिपिएम सिओटु” भनेर पनि लेबल गरिएको छ। जलवायु परिवर्तनकै कारण गुमेको ग्लेसियरका लागि लेखिएको यो नै विश्वको पहिलो शिलालेख भएको राइस युनिभर्सिटीका मानवशास्त्रका सहायक प्राध्यापक सिमिनी हावले बताइन्।
“ऐतिहासिक व्यक्तित्वका कामजस्ता मानवीय उपलब्धी वा हामीले महत्त्वपूर्ण ठानेका क्षति र मृत्युजस्ता विषयवस्तुमा मात्रै विश्वमा स्मारिका बनाउने चलन छ,” उनले बताइन्। “गुमेको ग्लेसियरबारे स्मारिका बनाएर विश्वले के गुमाइरहेको छ, त्यसलाई जोड दिन चाहन्छौं। यो यसतो उपलब्धी हो जसमा हामीलाई कुनै गर्नव हुनुहुँदैन। हामी यसबारे सबैको ध्यानाकर्षण गर्न चाहन्छौं।”
जलवायु परिवर्तन सम्बन्धी संवाद अमूर्त हुनसक्ने हावले टिप्पणी गरिन्। धेरैजसो तथ्याङ्क र आधुनिक वैज्ञानिक मोडेल बुझ्नलाई कठिन हुनसक्ने उनले बताइन्। “हामीले सामना गर्नुपरेको परिस्थितीको पूर्ण चित्र हेर्न सायद एउटा स्मारिका नै उत्तम उपाय होला,” उनले भनिन्। सङ्केत र समारोहले भावना जगाउने उनले बताइन्।
युनिभर्सिटी अफ बर्लिनका एरोडाइनामिक्स प्रोफेसर जुलियन वाइस पत्नि र सात वर्षिया छोरीसँगै कार्यक्रममा सहभागी भएका थिए। हराएको ग्लेसियर देखेर उनी पनि छक्क परे।
“जलवायु परिवर्तन दैनिक अनुभव गर्न सकिदैन। यो मानवीय स्तरमा बिस्तारै हुन्छ र भूगर्भीय स्तरमा प्रष्ट देख्न सकिन्छ।”
आइसल्यान्डले वार्षिक ११ अर्ब टन हिउँ गुमाउँछ। हावका अनुसार आइसल्यान्डका चार सयभन्दा धेरै ग्लेसियर सन् २२०० सम्म हराउने सम्भावना भएको बताए। आइसल्याडको ११ प्रतिशत सतह ग्लेसियरले भरिएको छ। “हाम्रो नवीकरणीय उर्जाको ठूलो अंश हिमनदीबाट उत्पादन हुन्छ। ग्लेसियर हराए हाम्रो उर्जा प्रणाली प्रभावित हुनेछ,” प्रधानमन्त्री याकोब्स्तोतिरले बताइन्।
ग्लेसियोलोजिस्टले सन् २०१४ मा ओक्योकुल हराएको घोषणा गरेका थिए। यसरी हराउने आइसल्यान्डको यो नै पहिलो ग्लेसियर हो।
सन् १८९० मा १६ वर्ग किलोमिटर क्षेत्र ग्लेसियरको हिउँले पुरिएको थियो। युनिभर्सिटी अफ आइसल्यान्डले सन् २०१७ मा ०.७ वर्ग किलोमिटर क्षेत्र मात्रै ग्लेसियर भएको प्रतिवेदन निकालेको थियो।
सन् २०१४ मा “यो जीवित ग्लेसियर नभएको हामीले निर्णय गर्यौं। यो मृत हिउँ मात्रै थियो। गतिशील थिएन,” ओद्दुर सिगर्डसनले बताए। उनी आइसल्यान्डिक मेटियोरोलोजिकल अफिसका ग्लेसियोलोजिस्ट हुन्।
ग्लेसियरको हैसियत पाउनलाई हिउँ र बरफको पिण्ड आफ्नै तौलले चल्नसक्ने गरि बाक्लो हुनुपर्छ। त्यसका लागि पिण्ड अनुमानित ४० देखि ५० मिटरसम्म बाक्लो हुनुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले अप्रिलमा प्रकाशन गरेको एउटा अध्ययनमा हरितगृह ग्याँस उत्सर्जनको वर्तमान दर कायम रहे सन् २१०० सम्म विश्वका आधा जति सम्पदा सूचिका ग्लेसियर हराउने उल्लेख गरिएको छ।