Kathmandu Press

साहसिक खेलमा बढ्यो महिलाको आकर्षण

पोखरा, मंसिर २ : नेपाली समाजमा महिला शारीरिक र मानसिक रूपमा कमजोर हुन्छन् भनेर चित्रित गर्ने गरेको पाइन्छ तर अवसर र पहुँच अनि...
साहसिक खेलमा बढ्यो महिलाको आकर्षण
फाइल तस्बिर

पोखरा, मंसिर २ : नेपाली समाजमा महिला शारीरिक र मानसिक रूपमा कमजोर हुन्छन् भनेर चित्रित गर्ने गरेको पाइन्छ तर अवसर र पहुँच अनि इच्छाशक्ति भएका महिलाले भने शारीरिक र मानसिक रूपमै चुनौतीपूर्ण क्षेत्रबाट अघि बढेका थुप्रै उदाहरण भेटिन्छ । यसको उदाहरणका रूपमा साहसिक खेलप्रतिको महिलाको बढ्दो आकर्षणलाई पनि लिन सकिन्छ ।

त्यसो त पछिल्लो समय हिमाल आरोहणदेखि अन्य जोखिमपूर्ण गतिविधिमा समेत महिलाले सफलता हासिल गरिरहेका छन् भने चुनौतीपूर्ण मानिएका क्षेत्रमा पनि महिलाले आफूलाई स्थापित गर्दै गएको देखिन्छ । चर्चित गायिका मञ्जु पौडेलले हालै मात्र कुश्माको द क्लिफ बञ्जीमा पुगेर २२८ मिटर अग्लो टावरबाट हाम फालिन् । त्यस पल आफ्नो आत्मबलको परीक्षाको अनुभुति भइरहेको बताउँदै उनले भने, “जीवनको एउटा सपना पूरा भयो, बाहिरबाट हेर्दा बञ्जी सामान्य नै लाग्छ तर हामफाल्नु अघि त्योे गहिराइको दृश्यले भने एकछिन मुटु नै हल्लाइदिने रहेछ ।” 

उनले त्यो परीक्षामा आफू उत्तीर्ण भएर थप आत्मविश्वास र बेग्लै ऊर्जा मिलेको बताए । “मैले जिपलाइनिङ, स्काइ साइक्लिङ त गरेको थिएँ तर बञ्जी मेरो पहिलो अनुभव हो । साहसिक खेलमा डर त हुन्छ नै, त्यसभित्रको आनन्द बेग्लै पाएँ”,  पौडेलले भने, “यसले मलाई थप ऊर्जा दिएको छ, म शारीरिक र मानसिक दुवैरूपमा सक्षम छु भन्ने विश्वास जगाएको छ ।

Hardik ivf

म पुनः दोस्रोपल्ट बञ्जी गरेर फेरिे थप आत्मविश्वास बटुल्ने छु ।” विश्वकै दोस्रो अग्लो दावी गरिएको उक्त बञ्जीमा ६० प्रतिशत महिला बञ्जी गर्न आउने गरेको द क्लिफका प्रबन्ध निर्देशक ईश्वर कार्कीले बताए ।  “बञ्जी गर्न आउनेको तथ्याङ्क हेर्ने हो भने हामीकहाँ ६० प्रतिशत महिला हुनुहुन्छ, १८ वर्षदेखि ३५ वर्षसम्मका महिलाको रुचि बढी देखिएको छ ।” उनले महिलाहरुमा साहसिक खेलप्रतिको आकर्षण पछिल्लो समय झनै बढेर गएको बताए । 

“अहिले सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम, टिकटकममा महिलाको क्रेज बढी देखिन्छ । यसमा पोष्ट हुने भिडियोले धेरै महिलाहरु बञ्जी गर्न आउने गरेको छ ।” उनले कम्पनीले सञ्चालनमा ल्याएको स्विङमा पनि महिला नै बढी हुने गरेको बताए । पोखराको श्रीकृष्ण माविमा अध्यापन गराउने शिक्षक अनुजा सैँजुले पनि गएको हप्ता माछापुच्छे गाउँपालिका–९ ल्वाङघलेलको कुदी छहरामा गएर क्यानोनिङ गरे । साहसिक खेल क्यानोनिङ गरेपछि आफ्नो आत्मविश्वास जगाएको बताउँदै उनले भने, “मैले अरुले गरेको धेरै चोटि देखेको थिएँ, त्यो देखेर मलाई पनि गर्न मन लाग्यो, डरसँगै आनन्द पनि हुने रहेछ ।”  स्वस्थ शरीरसँगै मानसिकरूपमा तयार हुने जो कोहीले पनि क्यानोनिङ गर्न सक्ने र यसले मानसिक रूपमा स्फूर्ति जगाइदिने उनको अनुभव छ ।

 क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हामफाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो । क्यानोनिङका सञ्चालक पर्यटन व्यवसायी राम गुरुङले क्यानोनिङ गर्न आउने ८० प्रतिशत महिला हुने गरेको बताए । उनका अनुसार  क्यानोनिङ गर्दा ४५ मिटरदेखि ७५ मिटर अग्लो स्थानबाट पानीको छहरामा रमाउन सकिन्छ ।

सामाजिक सञ्जाल टिकटकलगायतबाट भएको प्रचार प्रसारले पनि अहिले देशका विभिन्न स्थानबाट आउने महिला साहसिक पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । “पहिला पहिला पुरुषहरु नै हुन्थे, अहिले सामाजिक सञ्जाल लगायतबाट प्रचार प्रसार भएसँंगै महिलाहरुको सङ्ख्या बढिरहेको छ”, गुरुङले भने । काठमाडौँबाट साथीहरुसँग घुम्न आएकी सोनु पौडेलले दोस्रोपटक प्याराग्लाइडिङको मज्जा लिएको बताए । एक गैरसरकारी संस्थामा कार्यरत २३ वर्षीया पौडेलले कुश्मा पुगेर बञ्जी गर्ने सोच बनाएका थिए ।   

“आकाशमा त उडेँ, अब बञ्जीबाट हामफाल्ने सोच बनाएको छु, हेरौँ कहिले हुन्छ ।” उनले सानैदेखि साहसिक खेलप्रति आफ्नो रुचि रहेको र अहिले उमेरसँगै ती इच्छालाई पूरा गर्न आफू मानसिक र शारीरिक दुवै रूपमा सक्षम रहेको बताए । हवाई खेलकूद संस्थाका सचिव एवं हिमाल स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले प्याराग्लाइडिङ गर्ने महिलाको सङ्ख्या ५० प्रतिशत जस्तो नै रहेको बताए । “बाहिरबाट पोखरा आउने अधिकांश महिलाले प्यराग्लाइडिङ गर्ने  गरेको छ । कतिले दुई/तीनचोटि समेत गरेका छन् ।” उनका अनुसार खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका १२ महिला छन् । पोखरा–१७ रातो पैह्रोमा गो बञ्जी नेपाल एडभेन्चरर्स प्रालिका अध्यक्ष सन्तोष भट्टराई पनि साहसिक खेलमा महिलाको सहभागिता बढ्दै गएको बताए । “महिलाको सङ्ख्या बढ्दै गएको छ, उनीहरुमा आत्मविश्वास र उत्साह पनि उस्तै देखिन्छ ।”

भट्टराइले एकचोटि बञ्जी गरेर गएकाहरुको अनुभवका आधारमा अर्कोचोटि आफ्नो साथीहरु ल्याएर पुनः गर्ने गरेको बताए । पोखरा–२५ हेम्जामा रहेको हाइग्राउण्ड एडभेन्चर्सका (बञ्जी पोखरा) का प्रबन्ध निर्देशक दिनेश महर्जनले ७२ मिटर अग्लो बञ्जी टावरबाट बञ्जी गर्ने महिला ५० देखि ६० प्रतिशत रहेको बताए । उनका अनुसार कम्पनीले जिपलाइन पनि सञ्चालन गरेको छ । जीपलाइन गर्ने महिलाको सङ्ख्या पनि निकै राम्रो छ । साहसिक खेलप्रेमी एवं साहसिक पर्यटन अभियानकर्मी विष्णुकान्त घिमिरेले पछिल्लो समय महिला ‘सेलिबे्रट’को क्रेज पनि साहसिक गतिविधिमा बढ्दै गएको बताउछन् ।

उनका अनुसार पछिल्लो समय नेपाली चलचित्रका नायिका, गायिका र टिकटक स्टार महिलाको रोजाइमा पनि साहसिक गतिविधि प्राथमिकतामा पर्ने गरेको छ । यसले साहसिक खेल पर्यटनलाई प्रवद्र्धन गर्दै लैजाने उनी बताउछन् । बञ्जी, जिपलाइन र प्याराग्लाडिङ गर्ने गरेका कतिपय सेलिब्रेटी महिलाले पोष्ट गरेका भिडियोहरु पनि सामाजिक सञ्जालमा भाइरल हुने र अरुलाई रहर जगाइदिने गरेको उनको भनाइ छ ।  

“साहसिक खेलका लागि मानसिक र शारीरिकरूपमा तयार भएपछि जो कोहीले पनि खेल्न सक्ने र महिलामा झन् त्यो प्रकारको ऊर्जा उच्च देखिने गरेको छ”, घिमिरेले भने । पोखरा र आसपासका जिल्लामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हटएयर बेलुन, स्काइ डाइभसँगै पर्यटकले रमाइलोका लागि गर्ने साइक्लिङ, बोटिङ्ङ्ग, घोडसवारी, सेती नदीमा गरिने जलयात्रा (र्‍याफ्टिङ) तथा कायाकिङ गर्न पाइन्छ ।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, मंसिर २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्