विदेशीलाई प्रधानमन्त्रीले भने, ‘गैंडालाई राइनो र सगरमाथालाई माउन्ट एभरेष्ट नभन्नुस्’
काठमाडौं, भदौ २ : प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा जस्तै पुनः गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाएका छन्। पहिलो प....
काठमाडौं, भदौ २ : प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा जस्तै पुनः गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाएका छन्। पहिलो पटक प्रधानमन्त्री हुदाँ समेत ओलीले गैंडालाई गैंडानै भन्नुपर्ने तर्क गरेका थिए।
आजबाट काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६औं सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्ने तर्क गरेका हुन्। प्रधानमन्त्री ओलीले झन्डै ६ सय विदेशी पाहुना सामु भने, ‘गैंडाज आर गैंडाज, नट राइनोज।’
प्रधानमन्त्री ओलीले गैडालाई मात्रै नभएर सगरमाथालाई पनि ‘माउन्ट एभरेस्ट’ नभन्न विदेशीसँग आग्रह गरेका छन्। उनले सगरमाथालाई सगरमाथानै उच्चारण गरिदिन आग्रह गरेका हुन्। उनले भने, ‘गैडालाई राइनो नभन्नुस, सगरमाथालाई माउन्ट एभरेस्ट नभन्नुस!’ प्रधानमन्त्री ओलीले नेपालले पर्यटनलाई मुख्य ध्यान दिएको बताउँदै हवाई सुरक्षामा नेपाल गम्भीर रहेको समेत बताए।
उनले पर्यटन विकासका लागि कनेक्टिभिटीको ठूलो महत्व रहेकोले नेपाल सरकार विश्वभर हवाई सेवा विस्तार लागेको समेत बताए। नेपालमा दुई नयाँ विमानस्थल बन्दै गरेको उल्लेख गर्दै उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको समेत बताए।
कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालले हवाई यात्राको सुरक्षामा धेरै सुधार गरेको बताए। महानिर्देशक पोखरेलले नेपालले हवाई सुरक्षामा अधिकतम ध्यान दिएको र संयन्त्र परिचालन गरिरहेको बताए।
नेपालमा हवाई यात्रुको संख्या प्रत्येक वर्ष बृद्धि हुँदै गएको बताउँदै सरकार अहिले हवाई पूर्वाधार विस्तारमा केन्द्रित भएको समेत बताए। ‘लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको र सात विमानस्थल रात्रिकालिन उडानका लागि तयार भइसकेका छन्,’ महानिर्देशक पोखरेले भने।
पाँच दिनसम्म चल्ने सम्मेलनमा १२ वटा एजेन्डा प्रस्तुत हुनेछन्। सम्मलेनमा एसिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन संठगनका ४३ देशमा दुई सय ९१ प्रतिनिधिसहित ६ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागि छन्।






